प्रस, पर्सागढी, ५ चैत/
पर्सागढी नगरपालिका–३ स्थित जनता माध्यमिक विद्यालय, पकडिया बडनिहारमा चार कोठे विद्यालय भवन निर्माणका लागि नगरप्रमुख गोकर्ण पाठकले आइतवार शिलान्यास गरेका छन् ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४५ लाख रुपैयाँको लगानीमा चार कोठे भवन निर्माण हुने नगरप्रमुख पाठकले बताए । उनले शैक्षिक स्तर सुधारका लागि भवन निर्माण जरुरी रहेको बताएका छन् ।
भवन अभावमा एउटै कक्षाकोठामा धेरै विद्यार्थी राखेर अध्ययन गराउनुपरेकाले शैक्षिक गुणस्तरबढ्न नसकेकोले थप कक्षा कोठा निर्माण गर्न लागेको बताए । तोकिएका सङ्ख्यामा विद्यार्थीहरू कक्षाकोठामा रहँदा अध्यापन प्रभावकारी हुने उनले बताए ।
कार्यक्रममा प्रधानाध्यापक मोहन चौधरी, जनता माध्यमिक विद्यालय, पकडिया बडनिहारका क्याम्पस प्रमुख नागेश्वर मुखिया, वडाध्यक्ष सुकमान तामाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामायण चौधरीलगायतको सहभागिता थियो ।