प्रस, वीरगंज, १ चैत/

ठाकुर राम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन फेरि सरेको छ ।

देशभरमा स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदैछ । तर ठाराब क्याम्पसमा मतदाता नामावलीको विषयलाई लिएर विद्यार्थीहरूले विवाद शुरू गरेर क्याम्पसमा आगजनी गरेपछि छानबीन समिति गठन भएको थियो ।

छानबीन समितिले तीन दिनमा प्रतिवेदन नबुझाएको कारण निर्धारित समयमा निर्वाचन हुन नसक्ने अवस्था सिर्जना भएपछि निर्वाचन समितिले चैत ८ गतेका लागि स्ववियु निर्वाचनको मिति तोकेको थियो ।

यो चरणमा निर्वाचन समितिले बुधवार प्रकाशित गरेको अन्तिम नामावलीमा विद्यार्थी सङ्घसङ्गठनहरूले आपत्ति जनाउँदै क्याम्पसका विभिन्न कक्षमा तालाबन्दी गरेका थिए ।

पाँचवटा विद्यार्थी सङ्घसङ्गठनले हिजो विज्ञप्ति जारी गर्दै फोटोसहितको मतदाता नामावली प्रकाशन गर्नुपर्ने र परिचयपत्र भएकाहरूलाई मात्र मतदानमा सहभागी गराउनुपर्ने जस्ता मागहरू राखेका कारण हिजोदेखि क्याम्पसमा तनाव शुरू भएको थियो ।

ठाराब क्याम्पसमा सबै विद्यार्थी सङ्घसङ्गठनका एकाइ कमिटी छन् । स्ववियु निर्वाचन घोषणा भएपछि आधिकारिकरूपमा एकाइ कमिटीका अध्यक्ष, सचिवहरूको हस्ताक्षरमा विज्ञप्ति आइरहेको छैन ।

कमिटीमा जसले पनि हस्ताक्षर गर्ने र जुनसुकै निर्णय गर्ने गरेकाले निर्वाचनमा अहिलेसम्म अन्योलता रहँदै आएको हो ।

हिजै प्रकाशित वक्तव्यतर्फ एकथरी विद्यार्थी नेताहरूले नै माउ पार्टीका नेताहरूको झोला बोक्नेहरूबाट विज्ञप्ति जारी भएको आरोप लगाएका थिए । ती नेताहरूले स्ववियु निर्वाचन नहोस् भन्ने अभिप्राय राखेर यस प्रकारका गतिविधिहरू गरिरहेको आरोप पनि लगाएका छन् ।

यसअघि क्याम्पस प्रमुख डा उमेशकुमार चौरसियाले सर्वपक्षीय बैठक डाकेर स्ववियु निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने लिखित प्रतिबद्धता लिएका थिए । तर यस बावजूद तिनै पार्टीका भ्रातृ सङ्गठनहरूले निर्वाचन बिथोल्ने जस्ता गतिविधिहरू अघि सार्दा सबै चुप बसेका छन् ।

स्ववियु निर्वाचनलाई लिएर विवाद बढेपछि प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले बुधवार सर्वपक्षीय बैठक बोलाएका थिए, जसमा तिनै राजनीतिक दलका नेताहरूले स्ववियु निर्वाचन जेठ १३ गते गर्ने र अहिलेको वातावरणमा निर्वाचन सम्पन्न हुन गार्हो भएको प्रतिक्रिया दिएका
थिए ।

दलहरूको विचारका आधारमा जेठ १३ गते स्ववियु निर्वाचन सारिएको हो । बिहान भएको सहमतिबारे क्याम्पसको निर्वाचन समितिले चैत र वैशाखमा विभिन्न सङ्कायका परीक्षा भएका कारण जेठ १३ गतेका लागि स्ववियु निर्वाचन सारिएको सूचना जारी गरेको थियो । निर्वाचन अधिकृत रोशन लामिछानेले दिउँसो निर्वाचन सारिएको सूचना टाँस गरेका थिए ।

क्याम्पसमा अनशन

हिजोदेखि फोटोसहितको मतदाता नामावली र परिचयपत्रको कुराले स्ववियु निर्वाचनको मिति सर्ने आशङ्का पालेका केही विद्यार्थीहरूले भने हिजो साँझदेखि क्याम्पसमा अनशन शुरू गरेका थिए । उनीहरूले यही चैतमा निर्वाचन हुनुपर्ने र पछिल्लो समयमा तोकिएको मितिमैं हुनुपर्ने माग राखेका छन् । सबैजसो विद्यार्थी सङ्घसङ्गठनका नेता, कार्यकर्ताहरू अनशनमा सहभागी छन । आज पनि उनीहरूको अनशन जारी रह्यो ।

भौतिक कारबाहीको धम्की

नेविसङ्घका पूर्वकेन्द्रीय सदस्य सुधीर पटेलले बुधवार क्याम्पसमा पत्रकार सम्मेलन गरी तोकिएको समयमा स्ववियु निर्वाचन नभए आन्दोलन गर्ने र क्याम्पस प्रमुखलाई भौतिक कारबाही गर्ने चेतावनी दिएका छन् । उनले विद्यार्थीहरूको चाहना निर्वाचन भएको तर केही राजनीतिक दलहरूको षड्यन्त्रमा निर्वाचन सार्ने कार्य भइरहेको भन्दै प्रायोजित विवाद देखाएर निर्वाचन सारिएको र सो कार्य आफ्नो समूहलाई सह्य नभएको भन्दै आन्दोलन गर्ने र क्याम्पस प्रमुखमाथि भौतिक कारबाही गर्ने चेतावनी दिएका हुन् ।

पत्रकार सम्मेलनमा उनको समूहबाट स्ववियु निर्वाचनमा सभापतिका उम्मेदवार कमलेश यादवलगायतको सहभागिता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here