मध्य फागुनमैं महोत्तरीको वनक्षेत्रमा जताततै डढेलो लागेको छ । यसपालि हिउँदभरि पानी नपरेकोले डढेलो चाँडै फैलिएको हो । अवस्था जेसुकै भएपनि वनजङ्गलमा डढेलो लाग्ने मुख्यतः दुई कारण छन् । प्राकृतिक र मानवीय कारण तर हाम्रो मुलुकमा अधिकांश मानवीय कारणले डढेलो लाग्ने गरेको पाइन्छ । प्राकृतिक कारण भनेको हावा चल्दा बोटबिरुवाको आपसी घर्षणबाट वा सुक्खा पहिरोको बेला चट्टानहरू ठोक्किंदा आगोको झिल्को निस्किने र त्यही झिल्कोबाट आगो बनेर डढेलो लाग्ने हो । महोत्तरी क्षेत्रको डढेलो मानवीय कारणले लागेको भन्नेमा द्विविधा छैन । महोत्तरीको मात्रै होइन, अहिले तराई/मधेसका अधिकांश वनमा डढेलो शुरू भएका छन् । पहाड र हिमाली क्षेत्रमा पनि डढेलो शुरू भएका खबरहरू आइरहेका छन् ।

जङ्गल प्रवेश गर्ने गोठालो, दाउरे, घाँसी र शिकारीहरू ढलेकोका मुख्य कारक हुन् । उनीहरू कतिपयले जानाजान त कतिपयले अनजानमा नै डढेलो लगाउने गरेका छन् । गोठालो वा बटुवाले चुरोट, बिंडी सल्काएर फालेको आगो, शिकारीले खाना पकाएर खाएका चुलोबाट आगो सल्कन्छ । त्यसैगरी, झाडी सफा गर्न र नयाँ घाँस–च्याउ पलाओस् भन्ने सोचले पनि आगो लगाउने गरेको पाइएको छ । जङ्गलमा डढेलो लगाउन आगो बोकेरै जानुपर्छ भन्ने छैन । निहत्था मानिस प्रवेश गरे पुग्छ । आगो पर्ने जस्तै लामपाते जातका काठ आपसमा केही समय घर्षण गराउने बित्तिकै आगो पर्छ । त्यसैगरी, कडा र तलछट अर्थात् पत्रे चट्टान एकापसमा ठोक्यो भने आगो पर्छ । भनाइको अर्थ के हो भने जङ्गल प्रवेश गर्ने मानिसको शरीर चेकजाँच गरेर मात्रै डढेलो नियन्त्रण हुन सक्दैन । डढेलोविरुद्ध चेतना अभिवृद्धिसँगै अपराध गर्नेविरुद्ध कडा निगरानी र कारबाई हुनुपर्छ । महोत्तरीको बर्दिबास नगर क्षेत्रभित्र चार सबडिभिजन वन कार्यालय छन् । यहाँ सशस्त्र वन सुरक्षा कार्यालय पनि छ । यसबाहेक सागरनाथ वन विकास परियोजनाको कार्यालय र पोस्ट पनि छ । तर डढेलो सोही क्षेत्रभित्र हरेक वर्ष दन्किने गरेको छ । यसबीचमा डढेलो लगाउनेहरू समातिएको रेकर्ड छैन । कुनै वर्ष त डढेलो बस्तीसम्म आइपुग्ने गरेका छन् । यहाँ जैविक विविधताबारे सर्वसाधारण अचेतन देखियो भने वन सुरक्षा निकायका कर्मचारीहरू संरक्षणभन्दा पनि ‘सरकारी काम कहिले जाला घाम’को मानसिकतामा देखिए ।

हाम्रो वनजङ्गलमा हरेक वर्ष डढेलो लाग्ने अनुपात बढ्दै गएको छ । गृह मन्त्रालयको स्रेस्ता अनुसार आव २०७४/७५ मा मुलुकभर ११७५ वटा डढेलो लागेका थिए । २०७५/७६ मा यो सङ्ख्या बढेर ३२४३ मा पुग्यो । आव २०७६/७७ मा उल्लेखनीयरूपमा घटेर ६४६ रहेको देखिए पनि २०७७/७८ मा एक्कासि बढेर ६७७९९ वटा डढेलाका घटना भए । डढेलोले वनस्पति तथा वन्यजन्तुहरू र माटो, ढुङ्गा तथा वातावरणलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपमा असर पुर्याइरहेको हुन्छ । यसले वनजङ्गलका काठ, दाउरा, घाँस एवं गैरकाष्ठ वन पैदावारलाई नोक्सान गर्छ । ससाना बिरुवा मर्ने, वनको पुनरुत्पादनमा र्हासस आउने हुँदा जैविक विविधतामा र्हासस आउँछ । यसले वायुमण्डलीय प्रदूषण, वर्षाको अनियमितता, जलवायु परिवर्तन, पारिस्थितिकीय प्रणालीमा असर पुर्याउँछ । फलस्वरूप अन्नबाली उत्पादन र मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने गर्छ । यसलाई बुझ्न र बुझाउन नसक्दा हरेक वर्ष डढेलो लाग्ने होइन लगाउने गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here