प्रस, वीरगंज, १७ फागुन/
पर्सा राष्ट्रिय निकुञ्जभित्रको सबैभन्दा ठूलो प्राकृतिक पानीको स्रोत भएको ऐतिहासिक हलखोरिया दहमा सूर्य नेपालले ड्याम बनाउने भएको छ । गत वर्षदेखि पुरानो ड्याम साइड भत्काएर पानी बगेपछि हलखोरिया दह सुकेको छ ।
दुर्लभ वन्यजन्तु तथा विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थान रहेको हलखोरिया दह सुकेपछि अहिले समस्या भएको छ । पर्सा राष्ट्रिय निकुञ्जको आग्रहमा सूर्य नेपालले पुरानो ड्यामसँगै नयाँ ड्याम बनाउने तयारी गरेको छ । नयाँ ड्यामको लागि सूर्य नेपालले हिजो अर्चना कन्स्ट्रक्शनलाई जिम्मेवारी दिएको छ ।
पर्सा राष्ट्रिय निकुञ्जका रेन्जर हिमाल पाठकले जलचर, चराचुरुङ्गी तथा वन्यजन्तुको बासस्थान रहेको हलखोरिया दह सुकेपछि समस्या भएको र सूर्य नेपाललाई ड्याम बनाउन आग्रह गरिएको र सो प्रयोजनको लागि ठेकेदारसँग सम्झौता भइसकेको बताए ।
निकुञ्जसँग ठेकेदारले इजाजत लिएसँगै एकाध दिनमैं ड्यामको काम शुरू हुने र तीन महीनामा सम्पन्न हुने उनले बताए । जाडो छल्न साइबेरियाबाट सारसदेखि स्थानीय चराचुरुङ्गीको क्रिडास्थलको रूपमा हलखोरिया दह रहेको छ । हलखोरिया दहसँगै कामिनी रामभौरीभाठास्थित दहमा पनि सारस र स्थानीय चराचुरुङ्गीको बास हुने गरेको छ ।
हलखोरिया दहमा प्राकृतिक मुहानबाट पानी आउने र सो पानी अहिले ड्यामको साइड भएर बग्ने भएकोले सञ्चित हुन सकेको छैन । यसैगरी, आउँदो वर्षायाममा पानीलाई रोक्नको लागि पनि ड्याम आवश्यक थियो । ड्यामको अभावमा हलखोरिया दहको पानी सुक्दै गएको छ । वर्षायामको पानी सञ्चित नहुने र मुहानको पानी बगेर जाने हुँदा सूर्य नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यापर्यटनको लागि ऐतिहासिक हलखोरिया दहमा नयाँ ड्याम बनाउन लागेको हो ।