प्रस, पंचगावाँ, १३ फागुन/
स्थानीय प्रहरीको मिलेमतोमा पर्साको जीराभवनी मेलामा खुलेआम जुवा भइरहेको छ ।
महाशिवरात्रिको दिनदेखि जीराभवानी गाउँपालिका–१ स्थित महादेव मन्दिरमा लागेको जीराभवानी मेलामा खुलेआम जुवा भइरहेको छ ।
मेला समिति तथा मेला ठेकेदारले स्थानीय प्रहरीलाई प्रभावमा पारेकाले मेलामा जुवा, तास, कौडा, लङ्गरबुर्जा तथा घरेलु मदिरा बिक्री वितरण भइरहेको छ ।
मन्दिर परिसरनजीक सीमा सुरक्षा बल, सशत्र प्रहरी बल बोर्डर आउट पोस्ट र इलाका प्रहरी कार्यालय, पर्टेवासुगौलीको मातहतको इप्रका, सेढवा, प्रहरी चौकी, महादेवपट्टि छन् ।
मेलाको सुरक्षाको लागि सशस्त्र तथा जनपद प्रहरी परिचालन गरिएको भएपनि जुवा, तास, कौडा, लङ्गरबुर्जा खेल्न तथा घरेलु मदिरा बिक्री गर्न पूरा छुट दिइएको छ ।
मेला नेपाल–भारत सीमा क्षेत्रमा लागेको कारण भारतबाट पनि जुवा र मदिरासेवनका लागि ठूलो सङ्ख्यामा मानिसहरू आउँदैछन् । मेलामा जुवा तथा घरेलु मदिरा बिक्रीका कारण सुरक्षा चुनौती थपिएको स्थानीय अगुवाहरू बताउँछन् ।
प्रहरीअगाडि कानूनद्वारा वर्जित गतिविधिहरू भइरहँदा स्थानीय प्रहरी मौन बस्नुले प्रहरीको पनि मिलेमतो रहेको स्थानीयको आरोप छ । मेलामा मदिरासेवन गरेर महिलाहरूसँग अभद्र व्यवहारका घटनाहरू निरन्तर भइरहेका छन् ।