प्रस, वीरगंज, १३ फागुन/
वीरगंज महानगरपालिकाले विभिन्न ४८ पदका लागि आह्वान गरेको दरखास्तमा करीब एक हजार सात सयजनाले आवेदन बुझाएका छन् । चौथो तहको कम्प्युटर अपरेटर पदमा ३३ जनाको लागि दरखास्त आह्वान गरिएकामा एक हजार ४८० जनाको आवेदन परेको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताए ।
आवेदन बुझाउने अन्तिम दिन बिहीवारसम्ममा विभिन्न ४८ पदका लागि एक हजार ६८२ जनाले आवेदन बुझाएका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए । दुई पद सिभिल इन्जिनीयरमा २४ जनाले आवेदन दिएका छन् । यस्तै एक/एक जना माग भएको रोजगार सहायक र कम्प्युटर इन्जिनीयर पदमा क्रमशः २८ र ३१ जनाले आवेदन दिएका उनले बताए ।
अमीन सहायक चौथोमा ११ पदका लागि ११९ जनाको आवेदन परेको छ । खुला प्रतिस्पर्धाबाट करारमा दक्ष जनशक्ति पदपूर्ति गर्नुपर्ने भएकाले महानगरले गएको माघ २५ गते सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको थियो ।
परीक्षा मिति तय भइनसकेको र केही दिनमा सार्वजनिक गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।