प्रस, वीरगंज, ११ फागुन/
हिन्दूहरूको महान् पर्व होली यही फागुनको अन्तिम सातामा परेको छ । होली आउनुअगावै वीरगंजमा बोइलर कुखुराको दाम बढाइएको छ ।
दुई दिनअघिसम्म प्रतिकिलो रु २८० मा बिक्री भइरहेको बोइलर कुखुराको मासु मङ्गलवारदेखि रु ३६० मा बिक्री भइरहेको छ ।
वीरगंजमा बोइलर कुखुराको मासुको मूल्यमा एकरूपता छैन । मूल्य बढ्नुअघि २६० देखि ३०० रुपैयाँसम्ममा बिक्री भइरहेको थियो । अहिले एक्कासि मूल्य बढेर रु ३६० पुगेको छ ।
एकजना बोइलर कुखुरा व्यवसायीले फागु पूर्णिमासम्म बोइलर कुखुराको मूल्य चार सयसम्म पुग्ने बताएका छन् ।
यसपालि फागु पूर्णिमा तराईमा फागुन २३ गते मङ्गलवार परेको छ तर सो दिन फागु खेलिंदैन । भोलि बुधवार फागु पूर्णिमा मनाइन्छ । मङ्गलवार तराईमा अधिकांश मानिसले मासु नखाने हुँदा भोलिपल्ट बुधवार फागु मनाउन लागिएको हो ।
वीरगंजमा खसीको मासुको मूल्यमा पनि एकरूपता छैन । प्रतिकिलो एक हजारदेखि ११०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।