न्युयोर्क, ११ फागुन/एएनआई
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बुधवार युक्रेनमा रूसको आक्रमणको निन्दा गर्दै यो ‘हाम्रो सामूहिक विवेकको अपमान’ भएको बताएका छन् ।
रूसको युक्रेन आक्रमणको एक वर्ष पुग्न दुर्ई दिन अघि एघारौं आपत्कालीन विशेष सत्रलाई सम्बोधन गर्दै महासचिव गुटेर्रेसले भने–जब तपाईं युक्रेनमा रूसको आक्रमणबारे कुरा गर्नुहुन्छ, यो युक्रेनको जनता र अन्तर्राष्ट्रिय समुदायका लागि लाजमर्दाे विषय हो ।
“यो संयुक्त राष्ट्रसङ्घको बडापत्र र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन हो । यसले नाटकीयरूपमा मानव अधिकारको हनन निम्त्याइरहेको छ र यसको प्रभाव युक्रेनभन्दा धेरै परसम्म महसूस भइरहेको छ”–उनले भने ।
रूस–युक्रेन युद्ध गत फेबु्रअरी २४ मा शुरू भएको थियो र हालसम्म जारी छ । युक्रेनमा द्वन्द्व बढ्दै गएपछि महासभाले कीभले समर्थन गरेको प्रस्तावमाथि बहस गर्न थालेको हो । विशेष सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घ प्रमुखले पनि भने–“मैले पहिलो दिनदेखि भनेको कुरा के हो भने यस कदमले विश्च समुदायलाई चुनौती थपेको छ ।” संयुक्त राष्ट्रसङ्घका सबै सदस्यले आफ्नो अन्तर्राष्ट्रिय सम्बन्धमा कुनै पनि राज्यको क्षेत्रीय अखण्डता वा राजनीतिक स्वतन्त्रताविरुद्ध वा संयुक्त राष्ट्रका उद्देश्यहरूसँग असङ्गत हुनेगरी धम्की वा बल प्रयोगबाट टाढा रहनुपर्ने महासचिवको धारणा छ । उनले युक्रेनका चार क्षेत्र गैरकानूनीरूपमा रूसमा गाभिएकोमा पनि आपत्ति जनाएका छन् ।
यस अघि पोल्यान्डमा बुधवार अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धघोष गर्दा ‘ठूलो गल्ती’ गरेको बताएका थिए । राष्ट्रपति बाइडेन, पोल्यान्डको वार्सास्थित राष्ट्रपति भवनमा बुखारेस्ट–९ सँग बैठकमा भएका बेला पहिलोपटक मुस्कुराएर जवाफ दिंदै रूसको के प्रतिक्रिया हुन्छ त्यसको प्रत्युत्तर दिने समय नभएको बताएका थिए ।
बुखारेस्ट–९ समूह २०१५ मा क्रिमिया रूसमा विलय भएपछि गठन भएको थियो र यसमा बुल्गेरिया, चेक गणतन्त्र, एस्टोनिया, हङ्गेरी, लाटभिया, लिथुआनिया, पोल्यान्ड, रोमानिया र एस छन् ।
युक्रेन युद्ध एक वर्ष पुग्न लाग्दा बाइडेन पोल्यान्डमा नेटो नेताहरूसँग भेट्दै छन् । मस्कोमा राष्ट्रपति पुटिनले बुधवार चिनियाँ उच्च कूटनीतिज्ञ वाङ यीसँग भेट गरेका थिए । यस अघि वाङले रूसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग भेटवार्ता गरेका थिए ।
राष्ट्रपति पुटिनले अमेरिकासँग एकमात्र बाँकी रहेको परमाणु हतियार नियन्त्रण सन्धि – न्यु स्टार्टमा आफ्नो सहभागिता निलम्बन गरिरहेको र युक्रेन द्वन्द्वका लागि पश्चिमलाई दोष दिन खोजेको बताइएको छ । रासस