प्रस, जीतपुर, ७ फागुन/

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंले वीरगंजको पावरहाउस चोकदेखि पथलैयासम्म २२ किलोमिटर सडकखण्डको ६६ फिट चौडा जग्गा विभिन्न व्यक्ति र उद्योगहरूले कब्जा गरेको भन्दै सरोकारवाला कार्यालयलाई पत्राचार गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सा, बारा, जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयलाई माघ १० गते अख्तियारले रेलवेको जग्गा विभिन्न व्यक्ति, संस्था र उद्योगहरूले कब्जा गरेको भन्दै पत्राचार गरेको जनाएकोे छ ।

रक्सौल–अमलेखगंज रेलमार्गमा पर्ने तत्कालीन नेपाल गर्भमेन्ट रेलवेको एक हजार ७४९ बिघा जग्गा अतिक्रमित भएको अख्तियारले जनाएको छ । उक्त जग्गामध्ये वीरगंजको पावरहाउसचोकदेखि राजमार्गको पथलैयासम्म २२ किलोमिटर खण्डको ६६ फिट चौडा जग्गा विभिन्न व्यक्ति र उद्योगहरूको कब्जामा रहेको र कतिपयले नयाँ नापीबाट प्रमाणित गराएर रेलवेको जग्गा व्यक्तिगत बनाइसकेको अख्तियारको पत्रमा उल्लेख छ ।

तत्कालीन नेपाल सरकारले ब्रिटिश सरकारसँग सन् १९२७ जून १९ मा भारतको रक्सौलमा खरीद गरेको १६ बिघा एक कट्ठा चार धुर जग्गासमेत अतिक्रमणमा परेको जनाएको छ ।

तत्कालीन नेपाल गर्भमेन्ट, रेलवेलगायत सरकारी जग्गाहरू संरक्ष्ण गरी अतिक्रमण हुन नदिन मन्त्रालयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्राचार गरेको छ ।

पत्रमा अतिक्रमित जग्गा खाली गराउने प्रक्रिया अगाडि बढाउन  नगरप्रमुख, उपप्रमुख तथा कार्यपालिका सदस्यसँग राय लिन पत्राचार गरिएको जीतपुरसिमरा उपमनपाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले बताए । यस सम्बन्धमा जीतपुरसिमरा उपमनपाले बिहीवार बैठक बसेर स्थलगत प्रतिवेदन बमोजिम सर्वसम्मत निर्णय र रायसल्लाह अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने तयारी भएको नगरप्रमुख भोलाप्रसाद अधिकारीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here