रूसले युक्रेनमाथि आक्रमण शुरू गरेको एक वर्ष पूरा हुँदैछ । अघिल्लो वर्ष मार्च महीनाको प्रारम्भमा नै रूसले हमला गरेको हो । युक्रेन उत्तर एटलान्टिक सङ्गठन (नेटो)को सदस्य बन्न नहुने रूसको अडान थियो भने सोविपरीत युक्रेनको चाहना हो । युक्रेनको चाहनामा अमेरिकालगायतका नेटोका सदस्य राष्ट्रहरूको स्वार्थले काम गरेको छ । युक्रेन नेटोमा आबद्ध भए आफू असुरक्षित बन्न सक्ने रूसको ठम्याइ छ । उसको ठम्याइलाई अनावश्यक शङ्का भने मान्न सकिन्न । रूस र युक्रेन हिजो सोभियत सङ्घमा थिए । आज अलग रहे पनि एकापसमा सीमा जोडिएका मुलुक हुन् । धर्म, संस्कृति, बोली, भाषा तथा रहनसहनसमेत मिल्ने हुँदा नेटो प्रवेश रूसको लागि सह्य हुन सकेन । दूरी तथा भूगोलको हिसाबले युक्रेनको सीमा क्षेत्रबाट नेटो सैनिकले रूसको कुनै पनि भूभागमा सहजै क्षेप्यास्त्र प्रहार गर्ने सामथ्र्य राख्छ । युक्रेनका नागरिकलाई रूसविरुद्ध सुराकीको रूपमा नेटोले प्रयोग गरेमा रूसी र युक्रेनी नागरिक ठम्याउनसमेत गा¥हो हुने हुँदा रूसको सुरक्षामा थप खतरा हुन सक्ने भनी रूसले युक्रेनमाथि हमला गरेको हो ।

तर पनि रूसले आफूभन्दा सानो छिमेकी मुलुक युक्रेनविरुद्ध युद्ध थाल्नु न्यायोचित भने होइन । सार्वभौमसत्ता सम्पन्न मुलुक युक्रेनले आफ्नो निर्णय आफैं गर्न पाउनुपर्छ । नेटोमा सहभागी हुने, नहुने वा नेटोको सदस्य बन्दा घाटा हुने वा नाफा हुने कुरा युक्रेनले ठम्याउन पाउनुपर्छ । तर यहाँ कुरा त्यस्तो छैन । युक्रेन वा रूसका पक्ष राष्ट्रहरू छन् । युद्धको रिमोट उनीहरूले चलाइरहेका छन् । मैदानमा भने रूस र युक्रेन मात्रै देखिएका छन् । युद्धमा कुनै मुलुकले हस्तक्षेप गरेमा परमाणु हतियार प्रयोग गर्ने रूसको चेतावनीका कारण चाहेर पनि अन्य मुलुकले प्रत्यक्ष सहभागिता जनाउन सकेका छैनन् । युद्ध चलिरहेको एक वर्ष पुगिसक्दासमेत हारजितको अवस्थामा छैन । युक्रेनका भौतिक संरचनाहरू तहसनहस भइसके । यता रूसको इज्जत र प्रतिष्ठा तहसनहस भयो । उसको आर्थिक क्षति पनि ठूलो छ । युद्धको प्रारम्भमा रूसले युक्रेनलाई सहजै अधीनस्थ गर्नेछ वा काबुमा लिनेछ भन्ने आकलन विश्व समुदायले गरेको थियो तर त्यसो हुन सकेन । अहिलेसम्मको अवस्थामा युक्रेनले प्रतिरक्षा गरिरहेको छ । अब युक्रेनले रूसविरुद्ध आक्रामक कारबाई गर्नेछ, जसको निम्ति तयारी पूरा भएको भन्ने चर्चा छ ।

यतिबेला युक्रेनको पक्षमा नेटो सदस्य राष्ट्रहरू खुलेरै शक्ति प्रयोग गर्ने अवस्थामा देखिएका छन् । अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले आगामी स्प्रिङ सिजनमा युक्रेनले रूसमाथि आक्रमण गर्ने बताए । त्यसैगरी, अमेरिकी संयुक्त कर्मचारी प्रमुख जेन मार्क मिलेले रूसले ‘रणनीतिक, परिचालन र सामरिक’ सबै हिसाबले युक्रेनसँगको युद्ध हारिसकेको दाबी गरेका छन् । त्यस्तै, जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले पनि युक्रेनको आकाश सुरक्षित बनाउने विषय नै अहिलेको प्राथमिकतामा हुनुपर्नेमा जोड दिए । नेटोका प्रमुख जेन्स स्टोलटेनबर्गले पनि युक्रेनमा गोलाबारुद उत्पादनलाई तीव्रता दिन नेटो समूहका सैन्य गठबन्धनहरूलाई आग्रह गरेका छन् । अर्कोतर्फ रूस कुनै हालतमा हार्न चाहँदैन । नेटो खुलेर आयो भने रूस पक्षधर राष्ट्रहरू पनि खुलेर आउन सक्छन् । त्यसो नभए ‘मर्ता क्या नही करता’को अवस्थामा आणविक अस्त्र प्रयोग गर्न सक्छ । यसले फेरि विश्वयुद्ध तथा नरसंहार निम्त्याउने हुँदा शक्तिराष्ट्रहरूबीच वार्ता र संयमता नै सफल अवतरण हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here