प्रस, वीरगंज, ६ फागुन/

महाशिवरात्रि वीरगंज महानगरका शिवालयहरूमा पनि धूमधामले मनाइएको छ । शिवरात्रिको दिन वीरगंजको अलखियामठमा सबैभन्दा भीड लागेको थियो । शिवरात्रिको दिन यहाँ एकाबिहानैदेखि पूजाका लागि भक्तजनहरूको भीड लाग्ने गर्छ । ठूलो सङ्ख्यामा भक्तजनहरू पूजाका लागि यहाँ आउने हुँदा अबेर दिउँसोसम्म भीड लागेको थियो । साँझ शिवधुनी बालेर महिलाहरू भजनकीर्तन गरेर शिवमहिमामा लीन भएका थिए ।

अलखियामठलगायत यहाँका शिवालयहरूमा पनि भीडभाडका साथ शिवरात्रि मनाइएको छ । गत वर्षदेखि वीरगंज–३ मालपोत कार्यालयसँगै रहेको अजगैबिनाथ मन्दिरमा शिवरात्रि पूजा भव्यताका साथ मनाइन थालिएको छ । शिवरात्रिको दिन बिहान कलश यात्रा निकालिएको थियो । घडीअर्वा पोखरीमा कलशमा जल भरेर अजगैबिनाथ मन्दिरमा चढाइएको थियो । बाजागाजासाथ कलश यात्रा निकालिएको र दिनभरि मन्दिर परिसरमा भजनकीर्तन गरिएको थियो ।

यसैगरी, साँझ शिवधुनी बालिएको र सांस्कृतिक कार्यक्रमसहित प्रसाद वितरण र भण्डारा चलाइएको मन्दिर समितिका सचिव प्रशान्त अर्यालले बताए ।

यसैगरी, वीरगंज चिनी कारखानामा रहेको पशुपतिनाथ मन्दिरमा पनि शिवरात्रि भव्यताका साथ मनाइएको छ । शिवरात्रिको अवसरमा बिहानैदेखि सो मन्दिरमा पूजाआजाका लागि भक्तजनहरूको घुइँचो लागेको थियो । काठमाडौंपछि मोफसलमा पशुपतिनाथ मन्दिरको रूपमा चिनारी बनाउँदै गएको यहाँ महानगरपालिकाले सरसफाइ, विद्युतीकरण गरेर फागुन १ गते सोमवारका दिन महाआरती गरेको थियो । स्थानीयले भने आज शिवरात्रि भव्यताका साथ मनाए ।

यसैगरी, ८७औं त्रिमूर्ति शिवजयन्ती महोत्सव अन्तर्गत शनिवार छपकैयाको विश्वदर्शन भवनमा आध्यात्मिक प्रवचन, शिव झन्डोत्तोलन एवं शान्ति पदयात्रा कार्यक्रम गरी मनाइएको छ ।

नगरप्रमुख राजेशमान सिंहले कार्यक्रमको उद्घाटन गरेका थिए । उनले आध्यात्मिक ज्ञान र योगबाट ईश्वरीय सानिध्यता प्राप्त भई काममा सफलता र जीवनमा आनन्द मिल्ने बताए ।

उनले महानगरलाई केन्द्रको मुख्यालय माउन्ट आबुजस्तै स्वच्छ, सुव्यवस्थित र आध्यात्मिक पर्यटकीय नगर बनाउन पहल गर्ने बताए ।

केन्द्रकी मुख्य सञ्चालिका ब्रह्माकुमारी रविणा दिदीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख इम्तियाज आलम, वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नितेश कुमार, वडाध्यक्ष रेयाज मियाँ तेली, डा विश्वम्भर शर्मा, समाजसेवी पशुपति विक्रम शाह, उषा शाह, रेडक्रस पर्साकी उपसभापति मधु राणा, मधेस विश्वविद्यालयका रजिस्ट्रार विजय यादव, सामुदायिक सेवा केन्द्र, छपकैयाका ग्यासुद्दीन ठकुराई, बह्माकुमारी बेली दिदी, ब्रह्माकुमार गुणराज, ज्ञानुलगायतको सहभागिता थियो ।

कार्यक्रममा भगवान् शिवको चिह्न अङ्कित शिव ध्वजारोहण गरिनुका साथै शिवपार्वतीको चैतन्य झाँकीसहितको शान्ति पदयात्रा निकालिएको थियो ।

प्रस, सिम्रौनगढ/

महाशिवरात्रिको अवसरमा बाराको सिम्रौनगढ नगरपालिकाका विभिन्न टोलका शिवालयहरूमा शनिवार बिहानैदेखि जलाभिषेक भएको छ ।

सिम्रौनगढस्थित त्रिलोकीनाथ महादेव मन्दिरमा मेला लागेको छ । विभिन्न स्थानबाट आएका साना, ठूला कावरियाँ बमहरूले आज वाग्मती, त्रिवेणी नदीबाट जलबोझी यहाँ जलाभिषेक गरे । कावरियाँहरूको लागि नगरपालिका, वडापालिकाहरूले पानी, बत्ती, दाउरालगायत आवश्यक वस्तुहरूको सुविधा उपलब्ध गराएका थिए ।

सिम्रौनगढ नगरपालिका–६ र ७ को आयोजनामा लागेको यो मेला तथा यहाँ लाग्ने प्रसिद्ध चैत नवमी र दुर्गा मेला व्यवस्थित तवरले लगाउने गरेको वडाध्यक्षद्वय विवेक मेहता र नन्दकिशोरप्रसाद जयसवालले बताए । शिवारात्रिको अवसरमा सिम्रौनगढ नगरपालिकाको झवानी, खजानी, नैका टोला, हरिहरपुर, भगवानपुर, कचोर्वालगायतका शिवालयहरूमा भक्तजनहरूले जलाभिषेक गरेका थिए ।

प्रस, पर्सागढी/

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व पर्सागढीमा रहेका शिवालयहरूमा भव्यताका साथ मनाइएको छ । शनिवार बिहानैदेखि यहाँका शिवालयहरूमा पूजाका लागि महिला, पुरुषहरूको भीड लागेको थियो । पर्सागढी नगरपालिकाको बडनिहार, बर्वाछटौली, सबैया, एकटाङ्गालगायतका शिवालयहरूमा भगवान् शिवलाई गाँजा, धतुर, बेलपत्र चढाएर पूजाआजा गरिएको थियो । आजका दिन महिलाहरू उपवास बस्छन् । दिनभरि उपवास बसेका महिलाहरू राति धुनी बालेपछि प्रसाद र फलहार गर्छन् । शिवधुनी बालेर चोकहरूमा भजनकीर्तन पनि गरिएको थियो ।

प्रस, भिस्वा/

महाशिवरात्रि पर्व छिपहरमाई गापाका शिवालयहरूमा पनि धूमधामका साथ मनाइयो । यहाँका शिवालयहरूमा बिहानैदेखि भक्तजनहरू पूजापाठका लागि भीड लागेको थियो । शिवरात्रिको अवसरमा भिस्वामा शोभायात्रा पनि निकालिएको थियो । भिस्वाबाट निकालिएको शोभायात्रा बन्जारीमा पुगेर समापन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here