प्रस, सेढवा, ६ फागुन/
पर्सा जिल्लाको ऐतिहासिक तथा धार्मिक जीराभवानी मेला शनिवार शिवरात्रिदेखि भव्यरूपमा शुरू भएको छ ।
महाशिवरात्रिको अवसरमा लागेको मेलामा शनिवार बिहानदेखि भक्तजनहरूको घुइँचो लागेको थियो । एक हप्तासम्म चल्ने मेलामा आज ग्रामीण भेगका किसानहरूले विशेषरूपमा पूजा गरे । किसानहरूले निराहार व्रत बसी प्रसाद बनाएर भगवान् भोलेनाथको कथावाचन गरी मनाएका थिए । जीराभवानी मेलामा आज भगवान् शिवको मूर्तिमा जल चढाउन आउनेहरूको ठूलो भीड लागेको थियो । मेला समितिबाट खटेका सामाजिक परिचालक तथा जनपद र सशस्त्र प्रहरीले भक्तजनहरूको व्यवस्थापन गरेका थिए । मेला भर्न पर्सा, बारा, चितवन र भारतको बिहार राज्यबाट भक्तजनहरू बर्सेनि आउने गर्छन् । पहिलो दिन वीरगंजबाट आउने भक्तजनहरूको सङ्ख्या बढी रह्यो ।