- विश्वराज अधिकारी
खर्चमा आधारित अर्थव्यवस्था
अमेरिकी अर्थव्यवस्थाको जग अमेरिकीहरूले खर्च गर्ने परिपाटी वा प्रवृत्तिमा आश्रित छ भन्ने गरिन्छ । अमेरिकीहरूको खर्च गर्ने बानीले राष्ट्रिय अर्थव्यवस्थालाई गति दिने गर्दछ । अमेरिकीहरूले हात खोलेर खर्च नगर्ने हो भने यस देशको राष्ट्रिय अर्थव्यवस्था सुस्त हुने मात्र होइन, रोजगार र राष्ट्रिय आम्दानी वितरणसमेत प्रभावित हुन पुग्छ ।
परिमाण र सङ्ख्या दुवैको आधारमा अमेरिकीहरूले बढी वस्तु एवं सेवा खरीद गर्छन्, उपभोग गर्छन् । एक सर्वेक्षणले भन्छ– अमेरिकीहरूको घरमा औसतमा तीन लाख वस्तु हुन्छन् । केवल एक दिन मात्र उपयोग गरिने वस्तु पनि हजारौंका सङ्ख्यामा अमेरिकीहरूले उपयोग गर्छन् । जस्तै, कसैको जन्मदिनको दिनमा बालिने मैनबत्ती, हैप्पी बर्थडे भनी लेखिएको कागजका टोपी आदि । यी केवल एक दिन उपयोग गरिने वस्तु हुन् ।
अमेरिकामा क्रिसमस र ब्ल्याक फ्राइडलाई खर्च गर्ने चाडको रूपमा लिने गरिन्छ । यी दुई चाडमा अमेरिकीहरूले आफ्नो आम्दानीको ठूलो हिस्सा विभिन्न वस्तु खरीद गर्न खर्च गर्छन् । क्रिसमस एक धार्मिक चाड भए तापनि ‘ब्ल्याक फ्राइडे’ भने चाड होइन तर पनि यसलाई खरीद चाडको रूपमा मनाउने गरिन्छ ।
ब्ल्याक फ्राइडे विक्रेता र क्रेता दुवैले चाडको रूपमा मनाउने गर्छन् । एक दिने चाडको रूपमा रहेको यस ब्ल्याक फ्राइडेमा विक्रेताहरूले वर्षभरिमा भन्दा ज्यादै ठूलो परिमाणमा बिक्री गर्ने लक्ष्य राखेका हुन्छन् । र सोहीअनुरूप वस्तुको बिक्री मूल्यमा ठूलो छुटको घोषणासमेत गरेका हुन्छन् । अर्काेतिर, ब्ल्याक फ्राइडेको दिन विक्रेताहरूले वस्तुको मूल्यमा ठूलो छुट दिने हुनाले ब्ल्याक फ्राइडेको दिन अनेक सामान खरीद गर्ने भनी यस दिनलाई क्रेताहरूले वर्षभरि प्रतीक्षा गरेर बसेका हुन्छन् ।
अति खर्च गर्ने अमेरिकी बानीलाई प्रचलित अमेरिकी सामाजिक चलनले पनि सहयोग गर्दछ । अमेरिकीहरू आफूले आर्जन गरेको आय आफ्नैलागि खर्च गर्छन्, मेरो आम्दानी मेरो सन्तान (छोरी, छोरा, नातिनी, नाति)का लागि राख्नुपर्छ, साँच्नुपर्छ भन्ने सोच राख्दैनन् । मैले धन सङ्ग्रह एवं बचत नगरिदिए मेरा सन्तानले भोलिका दिनहरूमा दुःख पाउँछन् भनी भोलिका लागि धन सङ्ग्रह वा सञ्चय गर्दैनन् ।
सन्तानहरू अर्थात् छोरी वा छोराको शिक्षाका लागि मातापिताले खर्च गर्नु नपर्ने हुनाले पनि मातापितालाई आफ्नो आम्दानी हात खोलेर खर्च गर्न सजिलो हुन्छ । अमेरिकामा उच्च माध्यमिकसम्मको शिक्षा निश्शुल्क पाइन्छ भने कलेज र विश्वविद्यालय तहको शिक्षामा लाग्ने खर्च सन्तान स्वयंले बेहोर्छन्, उनीहरूका मातापिताले बेहोर्नुपर्दैन । बेहोर्ने चलन पनि छैन । युवाहरूले आफ्नो उच्च शिक्षामा लाग्ने खर्च आफैं जुटाउँछन् । बरु सङ्घीय सरकारले उनीहरूलाई सहुलियत ब्याजदरमा शिक्षा–ऋण दिने गर्दछ ।
अमेरिकामा १८ देखि २० वर्ष उमेर पुग्नासाथ युवाहरू आफ्नो मातापिताको घरबाट बाहिर जान्छन् र आफ्नो छुट्टै गृहस्थी आरम्भ गर्छन् । आफ्नोलागि जागीर आफैंले खोज्छन् । आफ्नो घरघरायसी खर्च स्वयम् बेहोर्छन् । यो कारणले गर्दा पनि, सन्तानको लागि आफूले खर्च नगरिदिनुपर्ने स्थितिले गर्दा पनि, अमेरिकी मातापिताहरू हात खोलेर खर्च गर्न स्वतन्त्र हुन्छन् ।
अमेरिकी अर्थव्यवस्थाले नागरिकको खर्च गर्ने बानीलाई गाडीको इन्धनको रूपमा लिन्छ र सो इन्धनले गाडीलाई गुड्ने क्षमता दिन्छ भन्ने कुरामा विश्वास गर्दछ । आज भएको पैसा खर्च गरिहालौं, भोलि देखा जाला भन्ने उपभोक्ताहरूमा रहेको मनोविज्ञानले अमेरिकालाई एक धनी राष्ट्र बन्न सहयोग पु¥याएको देखिन्छ ।