प्रस, वीरगंज, ३ फागुन/

सामाजिक विकास एकाइ कार्यालय वीरगंजले समयमा भुक्तानी नदिएको भन्दै बुधवार ठेकेदारलगायतले कार्यालयमा तालाबन्दी गरिएको छ ।

सामाजिक विकास मन्त्रालय मधेस प्रदेश सरकारबाट गत आवमा सञ्चालित योजनाहरूको काम सम्पन्न भए पनि हालसम्म भुक्तानी नभएको भन्दै ठेकेदार, उपभोक्तालगायतले आज कार्यालयमा पुगी तालाबन्दी गरेका हुन् ।

वीरगंज कार्यालयबाट कार्य गरेको तर हालसम्म भुक्तानी नपाएको भन्दै उनीहरू कार्यालयमा पुगी नाराबाजी गर्नुका साथै तालाबन्दी गरेको रन्जीत पटेलले बताए । उनले गत आवको मात्र रु छ करोड भुक्तानी दिनुपर्ने बाँकी रहेको बताए । ४२ जनाले ऋण लिएर काम गरेको तर हालसम्म कार्यालयले भुक्तानी नदिएको भन्दै आन्दोलन गर्न बाध्य रहेको एकजना ठेकेदारले बताए । उनले भुक्तानी नपाए चालू आवको सबै काम रोक्ने चेतावनी दिए । उनले भुक्तानीको लागि भौतिक पूर्वाधार मन्त्रालय हुँदै अर्थ मन्त्रालयसम्म धाउँदा–धाउँदै थाकिसकेको बताए ।

सो मन्त्रालयबाट चालू आवको रु एक अर्बको ठेकेदार, उपभोक्ता लगायतलाई भुक्तानी दिनुपर्ने बताइन्छ । बेंगा साह मावि भवन निर्माण रु २५ लाख, सामुदायिक भवन निर्माण कलैया रु २० लाख, अधूरो पुस्तकालय निर्माण श्रीपुर रु २० लाख, बर्थिङ सेन्टर निर्माण प्रस्टोका रु २० लाख, जनता मावि भवन निर्माण रु २० लाख, बर्थिङ सेन्टर वीरगंज–२४ रु १५ लाख, शारदा मावि भवन निर्माण रु २० लाख, पिपरा विद्यालय भवन निर्माण रु २० लाख गरी सो बराबरको रकम भुक्तानी दिन बाँकी रहेको देखिन्छ ।

यस विषयमा कार्यालय प्रमुख डा सुजीत मिश्राले काम सम्पन्न भएको तर सो बेला आफू नरहेको र हालै सरुवा भएर आएकोले भुक्तानी हुन नसकेको र पटक–पटक सम्बन्धित मन्त्रालयमा गएपनि भुक्तानी सम्बन्धमा आधिकारिक जानकारी नआएपछि भुक्तानी हुन नसकेको बताए ।

पीडितहरूको माग जायज रहेको र फेरि भुक्तानीको पहल गर्ने आश्वासन दिएको उनको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here