- विश्वराज अधिकारी
डेटिंग प्रथा
डेटिंगको नेपालीमा ठ्याक्कै के शाब्दिक अर्थ हुन्छ भन्न कठिन छ । डेटिंग शब्दको कार्य वा भाव अनुवाद भने सम्बन्ध परीक्षण हो । डेटिंगमा जानु भनेको युवती वा महिलाले तथा युवक वा पुरुषले आफ्नो लागि आत्मीय एवं शारीरीक सम्बन्ध राख्ने साथीको खोजी गर्नु हो । अर्को शब्दमा, आफूसँग विवाह गर्न राजी हुने पुरुष वा महिलाको खोजी गर्नु हो ।
डेटिंग गर्दा महिला एवं पुरुष, जो भविष्यमा जोडी पनि बन्न सक्छन्, सार्वजनिक स्थलहरूमा सँगै जान्छन्, घुम्छन्, समय बिताउँछन् र एकले अर्कोलाई परीक्षण गर्छन् । एक अर्काबारे थाहा पाउँछन् । जीवन बिताउन आवश्यक र आफूले खोजेकोजस्तो गुणको खोजी एक अर्कामा गर्छन् ।
छोटकरी र सङ्कुचित अर्थमा भन्ने हो भने डेटिंग भनेको युवती वा युवकले आफ्नो लागि उपयुक्त वर वा वधू खोज्नु हो । डेटिंग गर्दा प्रायः भविष्यमा बन्न सक्ने जोडीहरू पार्क, थिएटर, पुस्तकालय, म्युजियम, बार, क्लबमा जान्छन् । विशेषगरी रेस्टुरामा जान्छन् ।
प्रायः पहिलो वा दोस्रो डेटिंगमा जाँदासम्म पनि रेस्टुरामा खाएको पैसा भविष्यमा जोडी हुन सक्ने युवती तथा युवक दुवैले आफ्नो खानाको आफैंले भुक्तान गर्छन् ।
डेटिंगमा रहँदा एकले अर्कोको रुचि, उद्देश्य, लक्ष्य, विचारधारा, दृष्टिकोण, शिक्षा, जागीर आदिबारे जिज्ञासा राख्छन् । एकले अर्कोलाई विस्तृतरूपमा जान्ने प्रयास गर्छन् ।
दक्षिण एशियाका देशहरूमा आफ्ना सन्तानका लागि मातापिता वा अविभावकहरूले वधू वा वर खोज्ने प्रथा अहिलेसम्म विद्यमान रहे पनि युरोप एवं अमेरिकमा भने सयौं वर्ष पहिले यो प्रथा हराइसकेको छ । धेरै पहिले युरोपमा मातापिताले आफ्ना सन्तानका लागि वधू वा वर खोजिदिने प्रथा थियो । तर अहिले यो प्रथा इतिहास भइसकेको छ ।
आफ्ना सन्तानको विवाह वा जोडी निर्माणका लागि मातापिता वा अविभावकहरूले वधू एवं वर खोज्ने प्रथा नरहेकोले हरेक युवती वा युवकले आफ्नो जीवनसाथी स्वयं खोज्नुपर्छ । यसरी हरेक युवती वा युवकले आफ्नो लागि स्वयं वर वा वधू खोज्नुपरेकोले हरेक युवती वा युवक आवश्यकरूपमा डेटिंगमा जानु नै पर्छ । डेटिंगमा नगए वा कसैसँग प्रेम नभए युवती वा युवकको विवाह नै नहुने स्थिति उत्पन्न हुन्छ ।
आफ्नो लागि स्वयंले भविष्यको साथी वा पति तथा पत्नी खोज्ने कार्यलाई कुनै एक व्यक्तिको जीवन साथी, स्वतन्त्र भएर रोज्ने अधिकारको रूपमा पनि लिन सकिन्छ ।
युरोपको डेटिंग र अमेरिकाको डेटिंग प्रथामा केही भिन्नता भने छ । अमेरिकी जीवनको एक अभिन्न अङ्ग बन्न पुगेको डेटिंग प्रथाले विभिन्न युवती एवं युवकलाई आफ्नो लागि असल जोडी छान्ने अवसर प्रदान गर्छ ।
डेटिंगमा रहेको बेला भविष्यमा बन्न सक्ने जोडीका सदस्यहरूबीच प्रायः यौन सम्पर्क हुँदैन । तर उनीहरूबीच, सम्बन्ध अति घनिष्ट छ भने, यौन सम्पर्क हुन पनि सक्छ । यौन सम्पर्क हुनुको अर्थ उनीहरू अन्तरङ्ग सम्बन्धमा गाँसिन तयार हुनु हो ।