प्रस, गरुडा, २१ माघ/
रौतहटको मौलापुर नगरपालिकाले केही वर्षदेखि गर्दै आएको मधानी महोत्सवलाई यस वर्ष पनि विशिष्ट बनाउने भएको छ । महाशिवरात्रिको अवसरमा आयोजना हुने मौलापुर मधानी महोत्सवमा उपराष्ट्रपति नन्दकिशोर पुनदेखि नेपाली र भारतीय चर्चित सिनेकर्मीहरूको सहभागिता रहने बताइएको छ ।
मौलापुर नगरपालिका– ५ पतौरामा रहेको पुरातात्विक महादेव मन्दिरमा फागुन ५ देखि ७ गतेसम्म मधानी महोत्सव हुने भएको छ । फागुन ५ गते मधानी महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनद्वारा हुने मौलापुर नगरपालिकाले जनाएको छ ।
मौलापुर नगरपालिकाद्वारा शनिवार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख रीनाकुमारी साहले महाशिवरात्रिको अवसरमा तीन दिनसम्म चल्ने मधानी महोत्सवको उद्घाटन फागुन ५ मा उपराष्ट्रपति पुनले गरी महायज्ञ प्रारम्भ हुने बताएकी छन् ।
सोही दिन नेपालका चर्चित नेपाली कलाकार भुवन केसी तथा चर्चित भोजपुरी गायिका इन्दु सोनालीको पनि प्रस्तुति रहने नगरप्रमुख साहले बताएकी छन् ।
२०७६ देखि पुरातात्विक महादेव मन्दिर पतौरामा मधानी महायज्ञको सुरुआत नगरपालिकाद्वारा गरिएको थियो । २०७६ को पहिलो मधानी महायज्ञको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको थियो ।
मधानी महोत्सवको दोस्रो दिन फागुन ६ गते महाशिवरात्रि परेको छ । महाशिवरात्रिको दिन मधानी महोत्सवको मूल दिन हुने र विभिन्न धार्मिक कार्यक्रम सञ्चालन गरिनुका साथै भोजपुरी सिनेमाका चर्चित कलाकारहरू पवन सिंह, काजल राघवानीलगायतको पनि प्रस्तुति हुने बताइएको छ । यसैगरी, फागुन ७ गते अन्तर्राष्ट्रिय कुश्ती प्रतियोगिताको आयोजना गरिने र देवा थापासहितका चर्चित कुश्तीबाजको सहभागिता रहने नगरपालिकाले जनाएको छ ।
यसैगरी, हरेक महोत्सवको अवधिमा हरेक रात शिवमण्डलीद्वारा शिवलीला प्रदर्शन हुने बताइएको छ । पत्रकार सम्मेलनमा नगर उपप्रमुख योगेन्द्र राय यादव, वडाध्यक्षहरू, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबू साहलगायतको सहभागिता थियो ।
मौलापुर–५ पतौरामा रहेको पुराताŒिवक महादेव मन्दिर देशका १०० पर्यटकीय गन्तव्यमा परिसकेको छ भने विश्वसम्पदा सूचीमा सूचीकृत गर्न नगरपालिकाले प्रयास गरिरहेको छ । मन्दिर क्षेत्रमा विभिन्न पुराताŒिवक सम्पदा पनि फेला परेका छन् ।
विभिन्न समयमा पुरातŒवविद्हरूको टोलीले पुरातŒव विभागको निर्देशनमा उत्खनन पनि गरेको छ । हजारौं वर्ष पुरानो संरचना पुराताŒिवक महादेव मन्दिर परिसर र आसपासको क्षेत्रमा पाइएको छ ।