प्रस, निजगढ, २१ माघ/

बाराको चारकोसे झाडी वनक्षेत्रमा साल अर्थात् सखुवा प्रजातिका भीमकाय सखुवा भीम सखुवा रहेको छ । यसलाई नेपालकै साल प्रजातिका पुरानो र सबैभन्दा बढी गोलाइ भएको रूख अहिलेसम्म मानिंदै आएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गदेखि करीब पाँच किलोमिटर दक्षिणमा हरियो ठाडो भीमकाय भीम सखुवा रहेको छ । यसको गोलाइ १८ फिट र उचाइ ६० फिट अनुमान गरिएको छ । यो रूख चार सय वर्षभन्दा पुरानो रहेको मानिएको छ ।

नेपालमा अहिलेसम्मको धेरै मोटाइ (गोलाइ) भएको बाराकै भीम सखुवा हो भन्दा फरक नपर्ने पर्यावरणविज्ञ डा भुवनकेशर शर्मा, वनविज्ञ अमरदेव यादव, वन्यजन्तु अनुसन्धानकर्ता रविआनन्द गोपालीले बताएका छन् ।

एक सय वर्ष खडा, एक सय वर्ष पडा, एक सय वर्ष ढला भन्ने गाउँसमाजमा साल, सखुवा, अग्राख रूखको बलियोपनलाई बडो महत्वका साथ भनिंदै आइएको छ । साल प्रजातिका रूखलाई ८० वर्षीय बालीचक्रको रूपमा लिई वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ तयार गरिएको थियो ।

अहिलेसम्म नेपालमा यो रूखभन्दा बढी मोटाइ भएको सालको रूख फेला परेको जानकारीमा नआएको वन संरक्षणकर्मी, जानकार एवं विज्ञहरू बताउँछन् ।

सो भीम सखुवा रूख निजगढ–सिम्रौनगढ सडकखण्डको तामागढी सडकदेखि करीब ३० मिटर पश्चिम सडक किनारमा छ । “नेपालमा धेरै मोटाइ भएका रूखहरू अरू पनि हुन सक्छन् । तर अहिलेसम्म भेटिएका, देखिएका हरियो ठाडो सालका रूखहरूमध्ये धेरै मोटाइ भएको भीम सखुवा नै भएको वन संरक्षणकर्मीको भनाइ छ ।

आफू वन विज्ञानको विद्यार्थी हुँदा २०४५ सालमा बाराको तामागढीस्थित भीम सखुवाको रूख हेर्न त्यस बेलाका थुप्रै विद्यार्थी साथीसँगै म पनि आएको सम्झना अहिले पनि ताजा रहेको डिभिजन वन कार्यालय, बाराका प्रमुख एवं डिएफओ विनोद सिंह बताउँछन् । “हामीलाई शिक्षकले पढाउनु हुँदा भीम सखुवा रूखको बारेमा जानकारी गराउनुभएको थियो । अहिले पनि प्रायः वन विज्ञान अध्ययन गर्ने विद्यार्थीहरूलाई अवलोकनका लागि भीम सखुवा रूख हेर्न ल्याउने कार्य जारी रहेको छ,” डिएफओ सिंहले भने ।

दशकौंअघिदेखि सालका रूख पेशेवर चोर तस्कर समूहले निशानामा पर्दै आइरहेको छ । चोर तस्करले भीम सखुवा रूखलाई काटी लैजान अनेकौं प्रयास गर्ने क्रममा यस रूखलाई काट्न खोज्ने र त्यस समूहमा संलग्न हुनेहरूलाई तुरुन्तै कुन न कुनै अनिष्ट हुने भएपछि रूखलाई चोर तस्करहरूले काट्न छोडेको कोल्हवी र निजगढका पुराना स्थानीयहरू बताउँछन् । पछि रूखलाई पूजापाठ गरी सखुवा रूखमध्येको भीमकाय मोटो भएकोले यसको नाम भीम सखुवा राखेसँगै सोही नामले यस रूखलाई चिनिंदै आएको पुराना बूढापाकाहरू बताउँछन् ।

त्यसैगरी, बाराको निजगढस्थित वन क्षेत्रमा १६ फिट २ इन्च मोटाइ र ५० फिट उचाइ रहेको अनुमान गरिएको सखुवाको हरियो ठाडो रूख फेला परेको थियो ।

उक्त रूख २०७१ मङ्सिर २८ गते फेला परेको थियो । यो सालको रूख अहिलेसम्मको नेपालमैं दोस्रो धेरै मोटाइको सालको रूख रहेको विज्ञहरूको अनुमान छ । जसको नाम अर्जुन सखुवा राखिएको छ । तराई–मधेस फास्ट ट्र्याक निर्माणको क्रममा जङ्गली जनावरलाई आवतजावतमा समस्या पर्ने भएपछि अनुसन्धानका लागि खटिएका मानव तथा जङ्गली हात्ती द्वन्द्व विशेषज्ञ बाबुराम यादव, पर्यावरणविज्ञ डा भुवनकेशर शर्मा, वनविज्ञ अमरदेव यादव, वन्यजन्तु अनुसन्धानकर्ता रविआनन्द गोपाली सम्मिलित टोलीले फास्ट ट्र्याक आसपासको वनक्षेत्रमा सो रूख फेला पारेको भोलिपल्ट बिहान पूजापाठ गरी सो रूखलाई अर्जुन सखुवा नामकरण गरिएको थियो ।

पूर्व–पश्चिम राजमार्गबाट करीब अढाई किलोमिटर उत्तरतर्फ र फास्ट ट्र्याकको पूर्वी सिमानानजीकै अर्जुन सखुवा भेटिएको हो ।

सो आसपासको वनक्षेत्रमा भविष्यमा धेरै मोटाइ र उचाइ हुन सक्ने अन्य सालका केही रूखसमेत भेटिएको टोलीले जानकारी दिएको थियो । वन र सखुवाका रूखका बारेमा अनुसन्धान गर्नेहरूका लागि र बारा अनि निजगढलाई चिनाउने रूखहरूमध्येमा यी रूखहरू अग्रस्थानमा आउने टोलीले दाबी गर्दै यसलाई राज्य र स्थानीयले चासो दिएर संरक्षण गर्नुपर्ने सो टोलीको सुझाव थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here