वाशिङ्टन, २१ माघ/एएफपी
अमेरिकाले जफत गरिएको रूसी रकम युक्रेनको सहयोगका निम्ति प्रयोग गर्न अनुमति दिएको छ । महान्यायाधिवक्ता मेरिक गारल्यान्डले जफत गरिएको रूसी रकम युक्रेनको सहयोगका निम्ति उपयोग गर्न अनुमति दिइएको बताएका छन् ।
महान्यायाधिवक्ता गारल्यान्ड र युक्रेनी अभियोजक जनरल एन्ड्री कोस्टिनबीच यहाँ भएको भेटवार्तापछि अमेरिकाले रूसी रकम युक्रेनको सहायताका निम्ति खर्च गर्न अनुमति दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । रूसले छिमेकी युक्रेनमाथि आक्रमण गरेको करीब एक वर्षपछि अमेरिकाले उक्त घोषणा गरेको हो ।
रूसी धनाढ्य कोन्स्टान्टिन मालोफेयेभबाट जफत गरिएको सम्पत्ति युक्रेनको प्रयोगका निम्ति उपयोग गर्ने अधिकार प्रत्यायोजना गरिएको महान्यायाधिवक्ता गारल्यान्डले केबल न्युज नेटवर्क (सिएनएन)लाई बताएका छन् ।
अभियोजक कोस्टिनले अमेरिकी निर्णयको स्वागत गर्दै मालोफेयेभबाट जफत गरिएको ५४ लाख अमेरिकी डलर युक्रेनको पुनर्निर्माणमा उपयोग गरिने बताएका छन् ।
राज्यको सम्पत्ति हत्याएका व्यक्तिको सम्पत्तिमाथि कारबाही गर्ने अमेरिकी नयाँ कानूनको उनले खुलेर प्रशंसा गरेका छन् ।
सबै युक्रेनी कुनै न कुनै रूपमा जारी युद्धबाट पीडित भएका, उनीहरूले बेहोरेका क्षतिको पूर्ति सुनिश्चित गर्नु आफ्नो दायित्व भएको उल्लेख गर्दै अभियोजक कोस्टिनले सामाजिक सञ्जाल ट्विटरमा अपराधीले क्षतिको भुक्तानी गर्नुपर्ने बताएका छन् । रासस