प्रस, वीरगंज, २० माघ/

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रवार भूमिसुधार तथा मालपोत कार्यालय पर्साका चारजना कर्मचारीसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आयोगले युवा स्पोट्र्स क्लबको नाममा रहेको साबिक बेल्वा गाविस–८ को एक रोपनी पाँच आना जग्गा शेख सफी अहमदको नाममा दर्ता गराएको कसूरमा ६ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

भूमि सुधार तथा मालपोत कार्यालय पर्साका तत्कालीन कार्यालय प्रमुख कमोद तिवारी, नायब सुब्बा शम्भु साह रौनियार, खरदार शिवप्रसाद तेली र रिन्ताकुमारी साह तथा अहमद र निजका छोरासमेत गरी ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारविरुद्ध मुद्दा दायर भएको छ ।

मालपोत कार्यालय पर्साका तत्कालीन प्रमुख तिवारी, नायब सुब्बा रौनियार, खरदार तेली र रिन्ताकुमारी साहको संलग्नतामा सो जग्गा अहमदले आफ्नो नाममा पार्न सफल भएको बताइएको छ । नायब सुब्बा रौनियारले टिप्पणी उठाएका थिए र त्यसलाई प्रमुख तिवारीले सदर गरेका थिए ।

खरदार तेलीले मोठ भिडाएका थिए भने रिन्ताकुमारी साह तामेली फाँटमा थिइन् र उनले कागजात लुकाएको आरोप छ ।

प्रमुख तिवारी, नायब सुब्बा रौनियार हाल मालपोत कार्यालयमा कार्यरत छन् भने खरदार तेली र रिन्ताकुमारी साह जिल्ला हुलाक कार्यालय पर्सामा कार्यरत छन् । विशेष अदालतमा मुद्दा दर्ता भएसँगै शुक्रवार दिउँसो ३ बजेदेखि उनीहरू निलम्बनमा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here