प्रस, गरुडा, २० माघ/
आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले संविधानको वर्तमान व्यवस्थाले कुनै पनि दलको बहुमत नआउने बताएका छन् । जब कुनै दलको बहुमत आउँदैन तब देशमा स्थिरता नआउने तथा स्थिरताको अभावमा विकास तथा समृद्धि नआउने उनले बताएका छन् ।
आम जनता पार्टी (आजपा) को रौतहट जिल्लास्तरीय भेलालाई गरुडामा शुक्रवार सम्बोधन गर्दै पार्टी अध्यक्ष साहले जनताले जहिले पनि क्रान्तिमार्फत परिवर्तन ल्याएको बताए । परिवर्तन ल्याउने जनताको कहिल्यै हार नभएको बताउँदै आम जनताले आन्दोलन गरी ल्याएको लोकतन्त्र अहिले लुटतन्त्रमा परिणत भएको बताए ।
पार्टीका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वतन्त्र सांसदसमेत रहेका नेता साहले वर्तमान अवस्थामा किसानले किसान, मजदूर तथा आम नागरिकको अगाडि निकै समस्या भएको र केही मानिसले लुटतन्त्र मचाएको आरोप लगाएका थिए ।
देशमा आम जनताको पक्षमा काम गर्ने दल तथा नेताको अभाव रहेको अवस्थामा आम जनताको समस्यालाई सम्बोधन गर्न दल गठन गरेको उनले बताएका छन् ।
विगतमा पनि जनताले साथ दिएको बताउँदै नेता साहले अब जनताको दल निर्माण भइरहेकोले आम जनताले नै अगाडि बढेर साथ दिने स्पष्ट पारेका छन् । आम जनताको पार्टी निर्माण अहिलेको आवश्यकता रहेकोले सबै नागरिक गोलबन्द हुनुपर्ने विचार साहले राखेका छन् ।
अहिलेको संवैधानिक व्यवस्थाले गर्दा कुनै पनि दलको बहुमत नआउने र देशमा सधैं अस्थिरता रहने बताउँदै नेता साहले देशमा दलको शासन बनेको आम जनताको शासन आउन नसकेको आरोप लगाएका छन् ।
जिल्ला भेलामा आजपा नेता त्रिभुवन साहले आम किसान मोर्चा, विद्यार्थी मोर्चा, मजदूर मोर्चा, शिक्षक मोर्चा, महिला तथा मुस्लिम मोर्चाको जिल्ला समिति घोषणा गरेका छन् ।
आजपाको आम महिला मोर्चा हीरा खपांगीको अध्यक्षतामा घोषणा गरिएको छ । यसैगरी बालाशङ्कर कुशवाहाको अध्यक्षतामा आम आइटी आर्मी, ठागा दासको अध्यक्षतामा आम दलित मोर्चा, रामकृत साहको अध्यक्षतामा आम मजदूर मोर्चा, सञ्जय साहको अध्यक्षतामा आम शिक्षक मोर्चा, शोभा पाण्डेको अध्यक्षतामा आम विद्यार्थी मोर्चा, भगल यादवको अध्यक्षतामा आम किसान मोर्चा तथा शेख कलिमुल्लाहको अध्यक्षतामा आम मुस्लिम मोर्चाको जिल्ला समिति गठन गरिएको घोषणा भएको छ ।
यसैगरी आम जनता पार्टीको रौतहट जिल्ला समितिको घोषणा गरिएको छ । जिल्ला समितिको अध्यक्ष धर्मेन्द्र पटेल, उपाध्यक्ष सुभद्रादेवी र वीरेन्द्र यादव, सचिव पलट चौधरी, सहसचिव अनिल झा, अशोक साह र शेख जमालुद्दीन रहेको बताइएको छ ।