प्रस, वीरगंज, २० माघ/
वीरगंज महानगरको बजार व्यवस्थापन तथा अनुगमन समितिले शुक्रवार केही पसलहरूको अनुगमन गरेको छ ।
उपप्रमुख इम्तियाज आलमको नेतृत्वमा खटेको टोलीले शुक्रवार वीरगंज महानगर–१३ स्थित प्रितम एन्ड रचना किराना पसल र वीरगंज–८ गहवास्थित अविनाश जेनरल स्टोर्समा रहेका म्याद गुज्रिएका सामान जफत गरी नष्ट गरेको छ । म्याद गुज्रिएको सामान नष्ट गर्दै उपप्रमुख आलमले पसलेलाई नसिहत दिएर एकपटकको लागि छाडिएको बताए ।
टोलीले दुवै पसलबाट म्याद गुज्रिएको पास्ता, पूजा घ्यु, जुस, गोल्डेन ओके, सोफी, कुरकुरे जफत गरी नष्ट गरेको छ ।
यसैगरी टोलीले पसले नरेशराउत कुर्मी तथा अविनाशकुमार कानूलाई पसलमा मूल्यसूची राख्न, व्यवसायी प्रमाणपत्र राख्न, विनालेबलको सामान बिक्री वितरण नगर्न, स्पेयर सामानहरू बिक्री नगर्न आदेश दिएको छ ।
टोलीमा कार्यपालिका सदस्य तथा बजार व्यवस्थापन तथा अनुगमन समितिका सदस्य कन्हैया ठाकुर, शाखा प्रमुख विपिनलाल दास, कर्मचारी नेहा मिश्रा, गुणस्तर तथा नाप तौल कार्यालयका प्रतिनिधि मनीष गुप्ता, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ब्रह्मदेवप्रसाद यादव, जिल्ला प्रहरी कार्यालय पर्साका प्रतिनिधि मीनबहादुर रमौली, वीरगंज उद्योग वाणिज्य सङ्घका प्रतिनिधि मनोजकुमार दासको सहभागिता थियो ।