• उमाशङ्कर द्विवेदी

यसै प्रकार महारथी द्रोण तथा अर्जुन पनि विचित्र प्रकारले युद्ध गर्न थाले । उनीहरू सेनाको बीचमा विचित्र गतिले रथको सञ्चालन गर्दै एकअर्कालाई देब्रतिर पार्ने प्रयत्न गरिरहेका थिए । त्यति बेला जम्मै योद्धा ती दुवैको पराक्रम हेरेर चकित परिरहेका थिए । अर्जुनलाई जित्नको लागि आचार्य द्रोणले जुन जुन उपाय गर्दथे, अर्जुनले हाँस्दाहाँस्दै त्यसको तुरुन्तै प्रतिकार गरिहाल्थे । अनि द्रोणाचार्यले क्रमशः ऐन्द्र, पाशुपत, त्वाष्ट्र, वायव्य र वारुण अस्त्रलाई प्रकट गरे तर अर्जुनले द्रोणको धनुषबाट छुट्ने ती दिव्यास्त्रहरूलाई आफ्नो दिव्यास्त्रबाट शान्त पारिदिए । यो हेरेर द्रोणले मनमनैमा अर्जुनको प्रशंसा गरे उनी जस्तो शिष्य पाएर आफूलाई सबै शास्त्रवेत्ताहरूबाट श्रेष्ठ ठाने । ती दुवैबीचको युद्ध हेर्नको लागि आकाशमा हजारौं देउता र गन्धर्व, ऋषि र सिद्धहरूको समूह एकत्रित थिए । अर्जुन र द्रोणको प्रशंसाले भरिएको उनीहरूको कुरा मात्र सुनिंदै थियो ।

तदन्तर द्रोणाचार्यले ब्रह्मास्त्र प्रकट गरे, यसले अर्जुन र अन्य प्राणीहरूलाई सन्ताप दिन थाले । ब्रह्मास्त्र प्रकट हुने बित्तिकै पर्वत, वन र रूखहरूसहित भुइँचालो जान थाल्यो । समुद्रमा हुरी चल्न थाल्यो । दुवैतिरका सेना भयभीत हुन थाले तर अर्जुन यसबाट अलिक पनि विचलित भएनन् । उनले ब्रह्मास्त्रबाट नै त्यस अस्त्रलाई शान्त पारे । अनि सम्पूर्ण उपद्रव शान्त भयो । यसपछि अर्जुन र द्रोणाचार्यबीच घोर युद्ध हुन थाल्यो ।

सञ्जय भन्छन्– महाराज, त्यति बेला दुश्शासन धृष्टद्युम्नसित युद्ध गर्न थाल्यो । उसले धृष्टद्युम्नलाई आफ्नो बाणबाट हदैसम्म पीडित पार्यो । अनि उनी पनि धेरै क्रोधित भएर तपाईंको पुत्रको घोडामाथि बाणवर्षा गर्न थाले । एकै क्षणमा उनको बाणको यति राश थुप्रियो कि दुश्शासनको रथ त्यसबाट ढाकिएर ध्वजा र सारथिसहित अदृश्य भयो । धृष्टद्युम्नको सायकहरूबाट दुश्शासनलाई बडो पीडा हुन थाल्यो । त्यसैले ऊ अब उनको सामु टिक्न सकेन रयुद्धभूमिबाट भागिहाल्यो । यस प्रकार दुश्शासनलाई विमुख गरेर धृष्टद्युम्न हजारौं बाणहरूको वृष्टि गर्दै द्रोणाचार्यको समीप पुगिहाले ।

त्यति बेला भइरहेको युद्ध सर्वथा धर्मानुकूल थियो । कसैले पनि निहत्थामाथि वार गरिरहेको थिएन, त्यस युद्धमा कणीं, नालीक, विषमा सेलाएको बाण, वास्तिक, सूची, कपिश, गाई वा हात्तीको हाडबाट बनेका बाण, दुधार भएको अपवित्र वा बाङ्गोटिङ्गो बाण–यी सबै अस्त्रको प्रहार गरिंदैनथ्यो । सबै सेनाले शुद्ध र साधारण अस्त्रहरूलाई नै धारण गरेका थिए । सबैले धर्ममय सङ्ग्राम गरेर उत्तम लोक र सुयश प्राप्त गर्न चाहिरहेका थिए ।

यतिकैमा दुर्योधन तथा सात्यकिमा मुठभेड भयो । ती दुवै निर्भीक भई युद्ध गर्न थाले । साथै बचपनका बितेका कुराहरू सम्झँदै परस्पर प्रेमपूर्वक हेर्दै बारम्बार हाँस्न थाल्थे । राजा दुर्योधन आफ्नो व्यवहारको निन्दा गर्दै प्यारो मित्र सात्यकिसित भने– मित्र, क्रोध, लोभ, मोह, अमर्ष र क्षत्रिय आचारलाई धिक्कार छ, जसको कारण आज तिमीले ममाथि र म तिमीमाथि प्रहार गर्दैछौ । तिमी मेरोलागि प्राणभन्दा पनि प्रिय थियौ र ममाथि तिम्रो पनि यस्तै माया थियो तर आज यस रणभूमिमा हामीले ती जम्मै कुरा बिर्सिसकेका छौं ।

दुर्योधनले यस्तो भने पछि सात्यकिले भने– राजन्, क्षत्रियहरूको व्यवहार नै यस्तै हुन्छ । उनीहरू आफ्ना गुरुसित पनि भिड्न सक्छन् । यदि तिमीले मलाई आफ्नो प्रिय ठान्छौ भने मलाई छिटो मारिहाल, विलम्ब नगर । तिम्रो कारणले म पुण्यवान्हरूको लोकमा जानेछु । अब म जीवित रहेर आफ्नो मित्रमाथि परेको आपत्तिलाई हेर्न चाहन्नँ । यस प्रकार स्पष्ट उत्तर दिएर सात्यकि आफ्नो प्राणको पनि परवाह नगरेर छिट्टै दुर्योधनको सामना गर्न आइपुगे । अनि दुर्योधनले सात्यकिमाथि दशवटा बाण हाने, सात्यकिले पनि उनीमाथि क्रमशः पचास, तीस र दशवटा बाणको वर्षा गरे । दुर्योधनले हाँस्दाहाँस्दै तीसवटा बाण हानेर सात्यकिलाई घाइते पारे तथा एउटा क्षुरप्रबाट उनको धनुषलाई पनि काटी खसाले । सात्यकिले पनि अर्को धनुष हातमा लिई हस्तलाघव प्रदर्शन गर्दै तपाईंको पुत्रमाथि बाणको ओइरो लगाइदिए । दुर्योधनले आफ्नो सायकहरूबाट ती बाण समूहलाई टुक्राटुक्रा पारिदिएर सात्यकिमाथि त्रिहत्तरीवटा बाण हानेर व्याकुल पारिदिए । अनि जब उनी धनुषमाथि बाण चढाउनै लागेका थिए, त्यति बेला नै सात्यकिले उनको धनुषलाई काटिदिएर अनेकौं सायकहरूबाट उनलाई घाइते पारिदिए । दुर्योधन वेदनाले कराउँदै अर्को रथमाथि गई बसे । अलिकबेरमैं जब वेदना केही कम भएपछि सात्यकिको रथमाथि बाणवर्षा गर्दै अगि बढे । यस्तै सात्यकि पनि दुर्योधनको रथमाथि बाणवर्षा गर्न थाले । क्रमशः …

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here