जेरूसेलम, १४ माघ/एपी

पूर्वी जेरूसेलममा प्रार्थनासभाका लागि भेला भएका श्रद्धालुमाथि बन्दुकधारी एकजना प्यालेस्टिनीले आक्रमण गर्दा सातजना मारिएका छन् भने तीनजना घाइते भएका छन् । नेभ याकोभस्थित प्रार्थनास्थलमा शुक्रवार राति आक्रमण भएको प्रहरीले जनाएको छ ।  उसले यो आक्रमणलाई आतङ्कवादी हमला भनेको छ ।

इजरायलका प्रहरी आयुक्त कोबी शाब्ताईले उक्त आक्रमण हालैका वर्षमा भएका हमलामध्ये सबैभन्दा भीषण भएको बताएका छन् । हमलामा एक जना ७० वर्षीया महिलाको पनि ज्यान गएको छ । इजरायली सुरक्षाकर्मीले आक्रमणकारीलाई गोली हानेर मारेका छन् । प्यालेस्टिनी लडाकू समूहले आक्रमणको प्रशंसा गरे पनि त्यसको जिम्मेवारी लिएको छैन । उक्त समूहले पश्चिम किनारा र गाजापट्टीमा मिठाई बाँडेर खुशीयाली साटासाट गरेको थियो ।  पश्चिम किनारामा इजरायलले गरेको सुरक्षा कारबाहीमा नौजना प्यालेस्टिनी मारिएका अर्को दिन उक्त आक्रमण भएको हो । 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको भोलि आइतवार हुने भ्रमणको पूर्वसन्ध्यामा भएको यो घातक हमलाले पश्चिम एशियाको सुरक्षामा संशय थपेको छ । अमेरिकाले आक्रमणको निन्दा गर्दै त्यसलाई सभ्य समाजविरुद्ध हमला भनेको छ । साथै उसले इजरायललाई उसको सुरक्षा व्यवस्था सुदृढ तुल्याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । शुक्रवार नै राष्ट्रपति जो बाइडेनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई फोन गरेर अमेरिका इजरायलका पक्षमा रहेको बताउँदै आक्रमणमा मारिएकाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

इजरायली प्रधानमन्त्री नेतान्याहु सुरक्षाबारे निर्णय लिंदै

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आजै सुरक्षा विषयमा मन्त्रिपरिषद्को बैठक बोलाउने तयारी गरेको बुझिएको छ ।

शनिवार बिहान जेरूसेलमको पुरानो शहर नजीकै भएको गोलीकाण्डमा दुई इजरायली घाइते भएपछि यहाँको सुरक्षास्थितिमा चुनौती थपिएको छ । यस्तै शुक्रवार राति पूर्वी जेरूसेलमको एक बस्तीमा प्यालेस्टिनी बन्दुकधारीले सात इजरायलीको हत्या गर्नुका साथै अन्य तीनजनालाई घाइते बनाएपछि शनिवार आक्रमण भएको हो । पछिल्ला दिनहरूमा इजरायली र प्यालेस्टिनीबीच तनाव बढ्दै गएको छ ।

पूर्वी जेरूसेलमका १३ वर्षीय प्यालेस्टिनी बासिन्दा आक्रमणकारीले बाबु र छोरालाई घाइते बनाएको केही समयपछि  आक्रमणकारीलाई गोली हानी मारिएको प्रहरीले जनाएको छ ।

सोसँगै इजरायली प्रहरी प्रमुखले जेरूसेलम क्षेत्रमा विशेष बल तैनाथ गर्ने निर्णय गरेका छन् ।

यसै हप्ताको शुरूमा वेस्ट बैंकको जेनिन शहरमा इजरायली सेनाले गरेको आक्रमणमा नौ प्यालेस्टिनीको मृत्यु भएको थियो, जसले गर्दा विद्रोहीबीच आक्रोश बढेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here