प्रस, पर्सागढी, १२ माघ/
पर्सागढी नगरपालिकाका स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रमा कार्यरत १३ जना करारका कर्मचारीले बिहीवार नगरप्रमुख गोकर्ण पाठकलाई ज्ञापनपत्र बुझाएका छन् ।
आधारभूत स्वास्थ्य सेवा केन्द्र, मनवाका प्रमुख दीपु चौरसियाको अगुवाइमा कर्मचारीहरूले नगरप्रमुख पाठकलाई १० सूत्रीय मागसहित ज्ञापनपत्र बुझाएका हुन् । नगरपालिका अन्तर्गत रहेका आधारभूत स्वास्थ्य चौकीमा करारमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीहरूले आफूहरूलाई विनाकारण कामबाट हटाइएको भन्दै ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा कामबाट हटाउनुपर्ने कारण, तलबभत्ता दिनुपर्नेलगायतका १० सूत्रीय मागसहित ज्ञापनपत्र बुझाएको प्रमुख चौरसियाले बताए ।
ज्ञापन बुझ्दै नगरप्रमुख पाठकले स्वास्थ्य क्षेत्रमा नगरपालिकाले तलबभत्ता दिन सक्दैन र स्वास्थ्य मन्त्रालयले पनि रकम उपलब्ध गराउन नसकेपछि करारका कर्मचारी हटाउनुपरेको बताए । उनले कर्मचारी आवश्यकता परेको खण्डमा सेवा दिइरहेका व्यक्तिलाई प्राथमिकतामा राखिने बताए ।