प्रस, वीरगंज, १२ माघ/
जिल्ला प्रहरी कार्यालय, पर्साले ठगी कसूरमा तीनजना युवकलाई पक्राउ गरेको छ ।
माघ १० गते वीरगंज–१० स्थित माँ दुर्गे मनी ट्रान्सफरका सञ्चालक विजय सर्राफले कृषि विकास बैंक, वीरगंजमा रकम जम्मा गर्न चार लाख १७ हजार ८०० तीनजना युवकलाई दिएकोमा सो रकम लिएर उनीहरू फरार भएका थिए । घटनाबारे प्रहरीलाई जानकारी गराइएपछि प्रहरीले सोही ठाउँबाट साँझ ५ बजे तीनजना युवकलाई पक्राउ गर्न गरे पनि रु दुई लाख २३ हजार ५०० मात्र बरामद भएको थियो ।
ठगी कसूरमा सोही वडाका आकाश साह, सञ्जय साह र महम्मद सकिर मियाँ पक्राउ परेका हुन् । उनीहरूविरुद्ध ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभको मुद्दा लगाइएको र अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।
यसैगरी, वडा प्रहरी कार्यालय, बिर्ताले बिलबीजकभन्दा बढी लत्ताकपडा, टेन्टका सामान ढुवानी गरेको कसूरमा एउटा पिकअप भ्यान नियन्त्रणमा लिएर राजस्व अनुसन्धान पठाएको छ । माघ १० गते वीरगंज–१६ इनर्वा सडकखण्डबाट मधेस प्रदेश ०३–००१च ६५०० नम्बरको पिकअप भ्यानमा लत्ताकपडा, टेन्टका सामान रहेको र सो सामान बिलबीजकभन्दा बढी भएको भन्दै प्रहरीले राजस्व अनुसन्धान कार्यालय, पथलैया चलान गरेको जिप्रका, पर्साले जनाएको छ ।