प्रस, वीरगंज, १२ कात्तिक/
सरकारले पैसाको अभावमा कोरोना सङ्क्रमितको उपचार नरोकिने उद्घोष गरे पनि पर्सा जिल्लामा यसविपरीत कार्य भइरहेको छ र सङ्क्रमितसँगै सर्वसाधारणले दुःख भोग्नुपरेको छ।
पर्सा जिल्लामा अहिले नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा मात्र सङ्क्रमितहरूको उपचार भइरहेको छ। तर यो अस्पतालले लक्षण नभएका सङ्क्रमितसँग रु १ लाख १५ हजार र लक्षण देखिएका सङ्क्रमितसँग रु २ लाख १५ हजार पेश्की माग गरेको कारण सङ्क्रमितहरूको उपचारमा समस्या आएको हो।
पछिल्लो चरणमा पर्साको नारायणी अस्पतालमा ६ जना सङ्क्रमित पुष्टि भएपछि उनीहरूलाई नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा रेफर गर्दा अस्पतालले पेश्कीविना भर्ना नलिएको नारायणी अस्पतालका डा सन्दीप गुप्ताले बताए। उनले नारायणीमा कोभिड पुष्टि भएपछि नेशनलमा पठाइएको तर त्यहाँ शुल्क जम्मा नगरी उपचार नगर्ने भनी बिरामीलाई फर्काएको बताए।
नेशनल मेडिकल कलेज कोरोना अस्पतालका इन्चार्ज डा परवेजले नारायणी अस्पताललाई सशुल्क सङ्क्रमित मात्र पठाउन भनेको डा गुप्ताले बताए। उनले शुल्क तिर्न नसक्ने सङ्क्रमितहरूलाई नेशनलमा नपठाउन भनिएको कारण अहिले सङ्क्रमित पुष्टि भएकाहरूलाई नारायणीबाट घर रेफर गर्ने गरेको जानकारी गराए।
यस सम्बन्धमा नेशनल मेडिकल कलेज कोरोना अस्पतालका इन्चार्ज डा परवेजले सरकारको पछिल्लो निर्णयले समस्या भएको बताए। उनले उपचार गरे पनि पछि रकम नपाउने अवस्था रहेकोले आफूले नारायणी अस्पताललाई सशुल्क बिरामी मात्र पठाउन भनेको स्वीकारे। उनले सङ्क्रमितहरू घरमा बस्दा सङ्क्रमणको बढ्नेतर्फ आफू सचेत भएको तर अवस्था सो अनुकूल नभएको बताएका छन्।
पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले सरकारले कात्तिक २ गते गरेको निर्णय अनुसार विपन्न, अशक्त, असहाय, एकल महिला, ज्येष्ठ नागरिक र स्वघोषित विपन्नलाई निश्शुल्क उपचारको व्यवस्था गरिएको छ। यसका लागि सम्बन्धित सङ्क्रमित वा निजका परिवारले सम्बन्धित पालिकाको वडाबाट सिफारिश ल्याउनुपर्ने जानकारी गराएका छन्। यस्तो सिफारिश ल्याएका व्यक्तिहरूलाई तुरुन्त कोभिड अस्पतालमा उपचारको व्यवस्था हुने उनले बताए।
यता, सङ्क्रमितहरू घरमा बस्दा टोल र गाउँमा सङ्क्रमण फैलिने भयले जिल्लाका विभिन्न स्थानमा तनाव उत्पन्न भएको छ। पोखरिया नगरपालिकामा ८० वर्षीय सङ्क्रमित रकम अभावले कोरोना अस्पतालमा भर्ना हुन सकेनन्। उमेरले ज्येष्ठ नागरिक र आर्थिक अवस्था कमजोर रहेको उनको उपचार कोरोना अस्पतालमा गराउनेतर्फ पोखरिया नगरपालिका र वडापालिकाले पनि चासो देखाएको छैन। सङ्क्रमितका नाति फजिल अन्सारीले १४ जनाको परिवारमा १० कट्ठा खेत भएको र परिवार पाल्न समस्या भइरहेको अवस्थामा हजुरबुबाको उपचारको लागि सवा दुई लाख रुपैयाँ कहाँबाट ल्याएर उपचार गर्ने भन्दै दुःखेसो पोखे।
यसैगरी, बाराको नकटुवामा पनि ७० वर्षीया महिला उपचार अभावमा घरमैं बसेकी छन्। वनकटवाका दुईजना सङ्क्रमित छन् र उनीहरूलाई होम आइसोलेशनमा बस्न भनिएको छ। तर होम आइसोलेशनको मापदण्ड नबताइएको कारण उनीहरू गाउँटोलमा घुमफिर गरिरहेकाले गाउँलेहरू त्रसित भएका छन्।
नारायणी अस्पतालका चिकित्सक डा उदयनारायण सिंहले ६ जना सङ्क्रमित यसै हप्ता फेला परेको र उनीहरू घरमैं बसिरहेको बताए। पछिल्लो चरणमा पर्सा जिल्लामा रहेका कोभिड अस्पतालहरू सङ्क्रमितको अभावमा बन्द भएपछि पुनः सङ्क्रमण बढ्दै जाँदा सङ्क्रमितहरूप्रति स्थानीय प्रहरी प्रशासन र पालिकाहरूको पनि ध्यानाकर्षण नभएको उनले दुःखेसो पोखे। डा सिंहले यसबारे प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइसकेको बताए।
Home समाचार प्रमुख समाचार पर्सामा सङ्क्रमितको अवस्था दयनीयसरकार भन्छ– उपचार गर, अस्पताल भन्छ– पैसा ल्याऊ