प्रस, वीरगंज, ९ माघ/

किसानको उत्पादन सरकारले उचित मूल्यमा खरीद गर्नुपर्ने जनता समाजवादी पार्टीको भ्रातृ सङ्गठन समाजवादी किसान महासङ्घले माग गरेको छ ।

महासङ्घको केन्द्रीय सम्पादन समितिको आइतवार वीरगंजमा बसेको बैठकले किसानहरूले गरेको उत्पादन धान बिचौलिया तथा व्यापारीहरूलाई बिक्री नगरी सरकारले नै उचित मूल्यमा खरीद गर्नुपर्ने माग गरेको छ ।

सरकारले धानको समर्थन मूल्य तोके पनि किसानहरूले समयमैं मूल्य अनुसार बिक्री गर्न नपाउने जस्ता विभिन्न जटिलताहरू भएकोले सो कुरालाई मनन गरी सरकारले नै खरीद गर्नुपर्ने बैठकले निर्णय गरेको हो ।

बैठकले सरकारमार्फत नै किसानहरूले धान बिक्री गर्न पाएको खण्डमा ठगिने र कम मूल्यमा बेच्नुपर्ने तथा बजार नपाउनेजस्ता समस्याहरूको निराकरण हुने विश्वास व्यक्त गरेको छ ।

बैठकले सरकारले निर्धारण गरेको उखुको समर्थन मूल्यमा पनि किसानहरूले असन्तुष्टि जनाइरहेको भन्दै सोमा पुनः विचार गर्न माग गरिएको छ । सरकारले उखुको मूल्य तोके पनि लागत खर्च पनि नउठ्ने समस्या भएको र किसानहरू दुःखित भएको कारण उनीहरूको यो समस्या समाधानको लागि सरकारले पुनर्विचार गर्नुपर्ने बैठकले माग गरेको छ ।

बैठकले कृषि ऋण सहजरूपमा पाउन नसकिएको र विभिन्न खाले प्रक्रियागत झन्झट सिर्जना गरिएको हुँदा किसानहरूले सहजरूपमा कृषि ऋण पाउन नसकेको अवस्था भएकोले सोको निराकरण गरी किसानहरूले सहज रूपमा कृषि ऋण उपलब्ध हुने वातावरण सिर्जना गर्न बैठकमा छलफल भएको महासङ्घका उपमहासचिव तबरेज अहमदले बताए ।

बैठकले महासङ्घलाई विस्तार गर्नुका साथै क्रियाशील बनाउनेबारे पनि निर्णय गरेको उपमहासचिव अहमदले बताए ।

फागुन ३० गतेसम्म सातवटै प्रदेशमा महासङ्घको प्रदेश कमिटी र पुनर्गठन गर्ने निर्णय गरिएको महासचिव ओमकृष्ण बिष्टले जानकारी गराएका छन् । यसैगरी बैठकले महासङ्घको केन्द्रीय सदस्यमा मधेस प्रदेशबाट महाराज यादव, कर्णाली प्रदेशबाट प्रवजन उपाध्याय, लता चौलागाई, लुम्बिनी प्रदेशबाट प्रवजन शाही गरी चारजनालाई मनोनीत गरिएको महासचिव विष्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here