इस्लामाबाद, ९ माघ/एएफपी
पाकिस्तानभरि सोमवार बिजुली अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध हुँदा कराँची र लाहोरका शहरहरूसहित देशका २२ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् ।
पाकिस्तानको बिजुली वितरण प्रणाली एक जटिल र नाजुक वेब हो । ग्रीडको एक भागमा समस्याले देशभरि ब्रेकडाउन निम्त्याउन सक्छ । तीन घण्टा लामो विद्युत् अवरोध विगत दुर्ई वर्षमा दोस्रोपटक भएको हो । सोमवार बिहान ७ः३० बजे राष्ट्रिय ग्रीडमा त्रुटि आएको कारण यस प्रकार देशभर विद्युत् अवरुद्ध भएको जनाइएको छ ।
“विद्युतीय प्रणाली फ्रिक्वेन्सीमा बिहान राष्ट्रिय ग्रीडमा घट्यो जसले ठूलो ब्रेकडाउन निम्त्यायो”– ऊर्जा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । राजधानी र उत्तरपश्चिमी शहर पेशावरका केही भागमा सीमित विद्युत् पुनस्र्थापनासँगै मरम्मत कार्य चलिरहेको थियो ।
एक करोड ५० लाखभन्दा बढी जनसङ्ख्या भएको बन्दरगाह शहर कराँची र एक करोडभन्दा बढी जनसङ्ख्या भएको लाहोर विद्युत्विहीन रहेको जनाइएको छ । जनवरी २०२१ मा यस्तै ब्रेकडाउनले दक्षिणी पाकिस्तानमा देशको प्रसारण प्रणालीमा त्रुटि देखा पर्दा सम्पूर्ण देश अन्धकारमा डुबेको थियो ।
कमजोर अर्थतन्त्र, राम्रो प्रबन्ध मिलाउन नसक्नु र भण्डारण सुविधाको अभावजस्ता कारकहरूको संयोजनका कारण पाकिस्तान लामो समयदेखि ऊर्जा अभावबाट ग्रस्त छ । अस्पतालहरू प्रायःजसो जेनेरेटरहरूसँग ब्याकअप हुन्छन् जबकि विद्यालयहरूले आफ्नो कक्षा कोठा तताउन ग्याँस प्रयोग गर्छन् ।
हिउँदमा यस अवरोधले घरपरिवार र कपडा उत्पादनलगायत उद्योगहरूलाई असर गरेको छ, पाकिस्तानको सबैभन्दा ठूलो उद्योगहरूमध्ये एक, केही प्लान्टहरू अस्थायीरूपमा बन्द छन् । रासस