प्रस, परवानीपुर, ८ माघ/

वीरगंजमा जारी कलेजस्तरीय नटआउट क्रिकेट प्रतियोगिताको फाइनलमा ग्लोबल बिजनेश कलेज प्रवेश गरेको छ ।

वीरगंज युवा च्याम्प्स क्लब, मुर्लीद्वारा नारायणी रङ्गशालामा आयोजना भइरहेको चौथो संस्करणको प्रतियोगिता अन्तर्गत आइतवार भएको पहिलो सेमिफाइनल खेलमा ओम नेशनल कलेजलाई १०६ रनले पराजित गर्दै ग्लोबल फाइनलमा पुगेको हो ।

टस जितेर ब्याटिङ रोजेको ग्लोबलले २० ओभर खेल्दै छ विकेटको क्षतिमा १७५ रन बनाएको थियो भने जवाफी ब्याटिङमा ओम नेशनलले १२ दशमलव पाँच बलमा सबै विकेट गुमाएर ६९ रन मात्र बनायो । माघ ११ गते बिहान ११ बजेदेखि हुने फाइनल खेलमा पुग्ने ग्लोबल बिजनेश कलेज पहिलो टीम हो ।

सोमवार हुने दोस्रो सेमिफाइनलमा विजय हासिल गर्ने टीमसँग ग्लोबलको सामना हुने आयोजक क्लबका अध्यक्ष रमिज राजा अन्सारीले बताए । सोमवार हुने सेमिफाइनलमा नेशनल इन्फोटेक कलेजसँग सिद्धार्थ इन्टरनेशनल कलेजको प्रतिस्पर्धा हुनेछ । सिद्धार्थले आज भएको क्वाटरफाइनल खेलमा गढीमाई कलेजलाई एक विकेटअन्तरले पराजित गर्दै दोस्रो सेमिफाइनल खेलमा आफ्नो ठाउँ पक्का गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको गढीमाई कलेजले निर्धारित २० ओभरको खेलमा १९ दशमलव चार बलमा सबै विकेट गुमाइ १२२ रन बनाएको थियो । १२३ रनको विजयी लक्ष्य लिई जवाफी ब्याटिङ गरेको सिद्धार्थ इन्टरनेशनल कलेजले १९ दशमलव चार ओभरमा नौ विकेटको क्षतिमा १२७ रन बनाउँदै एक विकेटले खेल जितेको हो । वीरगंजका १६ वटा कलेजको सहभागिता रहेको प्रतियोगितामा ड्युज बलको प्रयोग भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here