प्रस, वीरगंज, ६ माघ/
तत्कालीन नेकपाका पर्सा जिल्ला विन्ध्यवासिनी गाउँपालिकाको एकाइ सचिव मुकेश चौरसियाको हत्याको विषय अहिले पुनः चर्चामा छ ।
तत्कालीन नेकपाको भेला भइरहेको प्रसौनीभाठामा नेकपाभित्रकै दुई गुट हाबी हुँदा कुटाकुट भएको थियो र सो कुटाकुटमा फाटा लागेर मुकेश चौरसियाको मृत्यु भएको थियो । यो घटनामा चौरसियाका भाइ महेश चौरसियाले प्रहरीमा १२ जनाविरुद्ध किटानी दिएका थिए । २०७७ कात्तिक ७ गतेको यो घटनामा १२ जनाविरुद्ध कात्तिक ९ गते मुद्दा दर्ता भएको थियो । हाल पर्सा क्ष्Fेत्र नं ३ का सांसद राजकुमार गुप्तासमेत १२ जनाविरुद्धको जाहेरीमा जिल्ला न्यायाधिवक्ताको कार्यालय, पर्साका तत्कालीन जिल्ला न्यायाधिवक्ता पद्मबहादुर कार्कीले प्रहरीले कल डिटेल पेश नगरेको भनेर सांसद गुप्ता, लक्ष्मण चौरसिया र हनिफ मियाँलाई मुद्दा नचल्ने भनी निर्णय गरेका थिए ।
उक्त निर्णयविरुद्ध महेश चौरसिया उच्च अदालत, सर्वोच्च अदालतमा पनि पुगेको र त्यहाँबाट गुप्तालगायत तीनजनाविरुद्ध मुद्दा नचल्ने भनी सफाइ दिएको बताइन्छ । अहिले यो मुद्दालाई पुस ११ गते महान्यायाधिवक्ता खुमबहादुर खातीले पूरक जाहेरी दर्ता गरी कानूनी प्रक्रिया अगाडि बढाउन जिल्ला न्यायाधिवक्ता पर्साको नाममा आदेश गरेपछि यो मुद्दा पुनः बिउँताउने काम शुरू भएको छ ।
जिल्ला न्यायाधिवक्ताको कार्यालय, पर्साले महान्यायाधिवक्ताको आदेश अनुसार गुप्तालगायत थप तीनजनामाथि अनुसन्धान गरी कारबाई प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय, पर्सालाई पत्राचार गरेको छ । शुक्रवार पर्सा क्षेत्र नं ३ का पूर्वसांसद एवं नेपाली काङ्ग्रेसका नेता सुरेन्द्रप्रसाद चौधरीले पत्रकार सम्मेलन गरी चौरसिया हत्याकाण्डका आरोपी सांसद राजकुमार गुप्ताविरुद्ध महान्यायाधिवक्ताले गरेको निर्णय अनुसार कारबाई प्रक्रिया अगाडि बढाउनुपर्ने र त्यसको पैmसला अदालतले गर्नुपर्ने बताए ।
पत्रकार सम्मेलनमा उनले हत्याकाण्डका अभियुक्तहरू छुट्नुहुन्न भन्ने आफ्नो मनसाय रहेको र यसमा कुनै राजनीतिक आग्रह–पूर्वाग्रह नराखेर विशुद्धरूपमा हत्यारालाई कारबाई गराउनु आफ्नो प्रमुख लक्ष्य रहेको बताए । उनले यसअघि काशीराज तिवारीको हत्याकाण्डका अभियुक्त रौतहटका सांसद प्रभु साहविरुद्ध पनि आफूले काठमाडौंमा पत्रकार सम्मेलन गरेको बताए । आफू एउटा सामाजिक कार्यकर्ता र जिम्मेवार नागरिक भएको नाताले यस्ता खाले गतिविधिविरुद्ध संलग्न हुँदै आएको र आफ्नो जिल्लामा पनि सोही कार्य गरेको प्रस्ट्याए ।
पूर्वसांसद चौधरीले पत्रकारहरूको प्रश्नको जवाफ दिंदै राष्ट्रपतिले महान्यायाधिवक्ताको राजीनामा स्वीकृत गरेको दिन पुस ११ गते महान्यायाधिवक्ताले यो घटनाका अभियुक्तहरूको पूरक जाहेरी दर्ता गरी कानूनी कारबाई अगाडि बढाउनु भनी गरेको आदेश कानूनसम्मत भए/नभएकोबारे अदालतले पैmसला गर्ने बताए । उनले महान्यायाधिवक्ताको आदेश कार्यान्वयन हुनुपर्छ र त्यो कानूनसम्मत छ/छैन भन्ने विषय अदालतले हेर्नुपर्ने बताए ।
पत्रकार सम्मेलनमा स्व चौरसियाका भाइ महेश चौरसियाले आफूले १२ जनाविरुद्ध किटानी जाहेरी दिएको र अग्रपङ्क्तिमा सांसद गुप्ताको नाम रहेको र उनी तत्कालीन घटनामा पूर्णरूपमा संलग्न रहेको देखिएको दाबी गरे । चौरसियाले घटना भएको दिनको प्रहरीले निकालेको कल डिटेल, गुप्तासहित निजको घरबाट घटनाका अन्य आरोपीहरू पक्राउ पर्नु जस्ता प्रमाणहरूका बावजूद तत्कालीन जिल्ला न्यायाधिवक्ता कार्कीले कल डिटेल उपलब्ध नभएको भनी गुप्तालगायत तीनजनालाई मुद्दा नचलाउनु दुराशयपूर्ण भएको जिकिर गरे । उनले घटना भएको कात्तिक ७ गतेपछि दुई दिनमा प्रहरीले कल डिटेल निकालेको र जिल्ला न्यायाधिवक्ताको कार्यालयमा पठाएको प्रमाण हुँदाहुँदै जिल्ला न्यायाधिवक्ताले कात्तिक १६ गते सांसद गुप्तालगायत तीनजनालाई उन्मुक्ति दिनु न्यायोचित नभएको बताए । यो घटनामा अहिले दुईजना पुर्पक्ष्Fको लागि वीरगंज कारागारमा छन् भने पाँचजना धरौटीमा रिहा भएका छन् भने एकजना फरार छन् ।
यही घटनामा आरोपी उत्तम भन्ने निरञ्जन तिवारीकी पत्नीले पनि तत्कालीन नेकपाका एकथरी नेताविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । सो जाहेरीमा पनि केही व्यक्तिलाई सफाइ दिइएको थियो ।
घटनाबारे सांसद गुप्ताले तीन तहको अदालतले आफूलाई सफाइ दिइसकेको र राष्ट्रपतिले राजीनामा स्वीकृत गरेको दिन महान्यायाधिवक्ताले आफूविरुद्ध निर्णय गरेर राजनीतिक प्रतिशोध साँधेको आरोप लगाए । उनले चुनावमा पराजित भएका नेकाका नेता सुरेन्द्रप्रसाद चौधरीले घटनालाई मलजल गरिरहेको आरोप लगाए ।