- विश्वराज अधिकारी
खानपिन
खानपिनसम्बन्धी अमेरिकी चलन आफैंमा रोचक छ र अन्य देश एवं संस्कृतिभन्दा पृथक पनि छ । अति औपचारिक समारोहबाहेक मन लागेको र भोक लागेको बेलामा कुनै पनि समारोहमा, स्थानमा खान सकिने अमेरिकी चलनलाई भोकमैत्री चलन भन्नमा कुनै द्विविधा हुँदैन । बसबिसौनी, एयरपोर्ट, पार्क, सार्वजनिक स्थल, कार्यालय आदिमा खाजा वा मुख्य खाना (लन्च) खान सकिन्छ । हिंड्दाहिंड्दै वा खेलमैदानमा पनि खान सकिन्छ । यसरी खाइने कार्यलाई अभद्र मानिंदैन । बसिरहेको स्थानमा आफूले आफ्नो खाना झिकेर विभिन्न व्यक्तिहरूको अगाडि एक्लै आफ्नो सुरमा खानुलाई अभद्र मानिंदैन ।
भोक ठूलो हो । भोक लागेपछि जुनसुकै स्थानमा पनि खान सकिन्छ । भोकसँग लोकलाजको कुनै सम्बन्ध छैन भन्ने मान्यतामा अमेरिकी परम्पराको विश्वास रहेको पाइन्छ ।
अमेरिकामा खाने कार्य जीवनको महत्वपूर्ण कार्य हो भनेर नै बसबिसौनी, सपिङ मल, एयरपोर्ट आदिमा ‘फूडकोर्ट’ को व्यवस्था गरिएको हुन्छ । फूडकोर्ट खानको लागि भनेर छुट्याएको यस्तो स्थान हो, जहाँ त्यस छेउमा रहेको रेस्टुरेन्टबाट खाना खरीद गरेर वा आफूसँग रहेको खाना झिकेर खान सकिन्छ । फूडकोर्टमा बाहिरी वातावरणको मजालिंदै, सङ्गीत सुन्दै रमाइलो वातावरणमा खान पाइन्छ । यसरी फूडकोर्टमा खाँदा छेउमा रहेका अपरिचित व्यक्तिहरूसँग कुरा पनि गर्न सकिन्छ । र त्यसरी अपरिचित व्यक्तिसँग कुरा गर्नुलाई अनौठो मानिंदैन । रमाइलो मानिन्छ । अपरिचित व्यक्तिले पनि रमाइलो मानेर कुरा गर्छ ।
अमेरिकामा खेलिने र सर्वाधिक लोकप्रिय खेल मध्ये एक फुटबल खेलमा दर्शकहरूले खेलमैदानभित्र खेल हेर्दै, आनन्द लिंदै खाएको देख्न सकिन्छ । विभिन्न पेय पदार्थहरू पिएको देख्न सकिन्छ ।
अमेरिकामा आफूलाई कुन किसिमको खाना चाहिएको हो, त्यसअनुरूपको खाना खरीद गरेर खान सकिन्छ । हिंडिरहेको वा यात्रा गरिरहेको अवस्थामा तयारी खाना खाने गरिन्छ । विश्रामको अवस्थामा अर्धतयारी अवस्थामा रहेको खानालाई केवल तताएर खान सकिन्छ । तेस्रो स्थितिमा भने कच्चा अवस्थामा रहेको खानालाई पूर्णरूपेण घरमा पकाएर खान सकिन्छ । खाने व्यक्तिले आफूसँग उपलब्ध रहेको फुर्सतको समयअनुरूप कुन र कस्तो खाना खाने हो रोजेर, स्थिति हेरेर खान सक्छ । केलव तताएर मात्र खान सकिने खाना पनि ठूलो मात्रामा पाइन्छ ।
कार्यालय वा काममा जाँदा वा फर्किंदा विभिन्न व्यक्तिहरूले आफ्नो कारभित्र नै खाँदै, कार चलाउँदै गरेको देख्नु अमेरिकामा सामान्य हो ।
खानपिनबारे एक अमेरिकी चलन भने निकै रोचक र उल्लेखनीय छ । अमेरिकीहरू विभिन्न देश, संस्कृति एवं परम्पराका खाना खान रुचाउँछन् । उनीहरूलाई केवल अमेरिकी खाना मन पर्छ भन्ने छैन । चाइनिज, जापानिज, भारतीय, नेपाली, मेक्सिकाली, पेरुभियन, थाई, भियतनामी, अफ्रिकाली, मध्यपूर्व, अरबी, टर्किश आदि खाना पनि स्वाद लिएर खान्छन् । यो कारणले गर्दा पनि अमेरिकाका साना होस् वा ठूला शहरहरूमा समेत पनि संसारभरिका देशका र अनेक संस्कृतिका खाना उपलब्ध रहेका रेस्टुरेन्टहरू पाउन सकिन्छ । नेपाली खाना पनि अमेरिकीहरूले निकै स्वाद लिएर खान्छन् । नेपाली सेकुआ र मम निकै मन पराउँछन् ।