प्रस, निजगढ, २२ पुस/
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत निजगढ–पथलैया सडकखण्ड अन्तर्गत दुधौरा पुलको दुर्ई सातायताबाट पुनर्निर्माण कार्य शुरू भएको छ ।
सो पुलको भासिएको पिलरलाई भत्काइ रेक्ट्रोफिटिङ गरियो । तर पनि पिलर जमीनमुनि भासिरह्यो । यस पुलको पिलर दुईपटक भासिएपछि पुललाई पूर्णरूपमा निश्तेज गरी नयाँ पुल निर्माणको काम थालिएको पनि तीन वर्ष नाघ्यो । काम कम गर्ने र अलपत्र छाड्ने ठेकेदारी रोगले यस पुललाई पनि छोडेन । यसतर्फ न त पुल विभाग महाशाखा काठमाडौंको ध्यान गयो, न त राज्यका अन्य सरोकारवाला निकायहरूले निर्माण कार्यलाई निरन्तरता दिन झक्झक्याउने काम नै गरे ।
सडक सञ्जालको हिसाबले मुलुककै जीवनरेखाको रूपमा रहेको एकमात्र पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बेवारिसे यस पुलको बारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देल, महानिर्देशक अर्जुनजङ्ग थापासँग भेट गरी अविलम्ब निर्माण सम्पन्न गर्न भर्खरै निर्वाचित बारा क्षेत्र नं ४ का सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठले आग्रह गरेपछि पुल निर्माणको कार्यले गति लिएको छ ।
वर्षायाममा मात्र निर्माण कार्य अलपत्र हुने होइन । सहज मौसममा पनि लामो समयसम्म पुलको काम बेवारिसे रह्यो । पुल निर्माण नहुँदा ठूला–साना सवारीसाधनहरूले कठिनाइ भोग्दै आइरहेका छन् । बिरामीलाई समयमा अस्पताल पुर्याउन नसक्दा एम्बुलेन्स पनि पीडित रहेको जीतपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित एम्बुलेन्स चालक सञ्जय सिंहले बताए । दुई सय मिटर डाइभर्सन पार गर्न कम्तीमा पनि १० मिनेट लाग्ने बताउँदै विभिन्न प्रकृतिका बिरामी ओसार्दा सडकका खाल्डाखुल्डीका कारण बिरामीहरूलाई झन् पीडा थपिने गरेको चालक सिंहले बताए । दुर्घटनाका घाइते, प्रसूति पीडालगायतका गम्भीर प्रकृतिका बिरामीलाई सडक र डाइभर्सन खराब हुँदा समयमैं अस्पताल पुर्याउन ढिला हुने गरेको निजगढका एम्बुलेन्स चालक वीरबहादुर लोप्चनले दुःखेसो पोखे । त्यहाँको डाइभर्सन केही दिनअघि मरम्मत गरिए पनि पुनः खाल्डाखुल्डी भइसकेको छ ।
सो पुल निर्माणका लागि खोलिएको डाइभर्सन कहालीलाग्दो छ । महीनौंसम्म डाइभर्सनका ठूला खाडलहरूलाई नसम्याउँदा होचा बनोटका सवारीसाधनहरू खाल्डोमा परी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाराले जनाएको छ ।
डाइभर्सनमा धूलो नउडोस् भन्नाका लागि पानी पटाउने गरे पनि त्यस कार्यले निरन्तरता पाएको छैन । ८०/९० किलोमिटर सडक यात्रा पार गरेर आउने सवारी चालक अनि यात्रुहरूसमेत यति छोटो डाइभर्सनका खाल्डाखुल्डी र उडेको धूलोले दिक्दार भइरहेका छन् ।
शुरूमा खाल्डाखुल्डी पुर्ने, सम्याउने कार्य भएपनि पछिल्लो समय ठेकेदार कम्पनी सम्पर्कविहीन हुँदा महीनौं दिनसम्म खाल्डाखुल्डी अलपत्र रह्यो । जसले गर्दा सवारीसाधनमा क्षति हुने र दुर्घटनाको जोखिम बढाएको ट्राफिक प्रहरीहरू बताउँछन् । दुधौरा पुल ठेक्का साकार गरेको तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएपनि सो समयसीमा सकिसकेको छ । सो अवधिमा बढीमा ३० देखि ३५ प्रतिशत मात्र काम भएको छ । जसमा एउटा पिलर उठाउने, अर्को पिलरको जगमा ढलानको काम र अन्य दुईछेउको काम शुरू भएको छ ।
पुल निर्माण कार्यक्षेत्रमा कति रकममा ठेक्का साकार भएको, कति समयावधिमा काम सम्पन्न गर्नुपर्ने, ठेकेदार कम्पनीको सम्पर्क नम्बरलगायतका विवरण खुल्ने सार्वजनिक बोर्ड राख्नुपर्नेमा सोसमेत पालना भएको छैन । जसले गर्दा ठेकेदार कम्पनीको बेवास्ता बढेको देखिन्छ ।
महादेव खिम्ती हिराचन जेभी काठमाडौंले दुई स्पानको ९० मिटर लम्बाइको उक्त पुल निर्माण सम्पन्न गर्नका लागि १७ करोड २२ लाख रुपैयाँमा ठेक्का साकार गरेको पुल विभाग महाशाखा, काठमाडौंले जनाएको छ । साबिक पुलको पिलर दुईपटक भासिएपछि र सडकको चौडाइ पनि विस्तार गर्ने कार्यअघि बढेपछि पुरानो पुललाई पूर्णरूपमा भत्काइ नयाँ पुलको डिजाइन बनाएपछि निर्माणका लागि ठेक्का सम्झौता भएको पुल विभाग महाशाखाले जनाएको छ । महेन्द्र राजमार्ग निर्माणका बेला तत्कालीन सोभियत सङ्घले चार दशकअघि निर्माण गरेको दुई लेनको पुल अब चार लेनको हुने महाशाखाले जनाएको छ । ठेक्का सम्झौता अवधिमा महामारीका रूपमा फैलिएको विश्वव्यापी कोभिड–१९ का कारण निर्माण सामग्री र कामदारको अभाव भएकाले तोकिएको समयसीमाभित्र काम सम्पन्न गर्न नसकेको भन्दै ठेकेदार कम्पनीले म्याद थपका लागि पटक–पटक पत्राचार गरे पनि पुलको ठेक्का सम्झौता गर्दाको समयमा भन्दा अहिले फलामे डन्डी, सिमेन्टलगायत निर्माण सामग्रीको मूल्य अत्यधिक आकाशिएकाले पनि पुल निर्माणमा ठेकेदार कम्पनीले ढिलाइ गरि रहेको स्रोतले जनाएको छ ।
ठेकेदार कम्पनीको आग्रहलाई ध्यानमा राख्दै पुल महाशाखा विभागले उक्त कार्य २०८० असार मसान्तभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने म्याद थप गरिदिएपछि कामले गति लिन थालेको हो । वर्षामा सवारीसाधन आवतजावतमा समस्या नहोस् भन्ने उद्देश्यले दुधौरा खोलामा निर्माणाधीन पुलको दक्षिणतर्फ बेलिब्रिज सञ्चालनमा ल्याउने गरिएको छ । बढीमा ३० टनसम्म क्षमता भएको सो ब्रिजमा ५०/६० टनभन्दा बढी भारका मालवाहक सवारीसाधन ओहोरदोहोर गर्ने गरेका छन् । जसले गर्दा सो ब्रिजसमेत उच्च जोखिममा रहेको प्राविधिकहरू बताउँछन् ।
यस राजमार्गको निजगढ–पथलैया सडकखण्डमा मरम्मत सम्भारको अभावमा जोखिममा रहेका निजगढस्थित बकैया पुल, पसाहा पुल र बालगङ्गा पुलको तत्कालै मरम्मत सम्भार गरी सञ्चालनमा ल्याउने सरकारको योजना अनुसार २०७८/९/१४ गते ठेक्का सम्झौता भएको थियो । यही पुस मसान्तभित्र ती पुलका मरम्मत सम्भारका कार्य सम्पन्न गर्नुपर्ने समयसीमा रहे पनि पसाहा पुल र बालगङ्गा पुलको काम शुरू भएकै छैन । ती तीन पुल न्यू टेक्निकल वाटर प्रुफिङ एन्ड इन्फ्रा रिह्याबिटेशन कम्पनी, काठमाडौंले एक करोड ८१ लाखमा मरम्मत सम्भार गर्ने गरी ठेक्का साकार गरेको सडक डिभिजन कार्यालय, हेटौंडाले जनाएको छ ।
विभिन्न कारणले ठेकेदार कम्पनीले म्याद थप गर्न आग्रह गरिरहेको सडक डिभिजन कार्यालय, हेटौंडाका प्रमुख राजेश यादवले बताए ।
बकैया पुलको मरम्मत सम्भारपछि तीन महीनाअघि पूर्णरूपमा सञ्चालनमा आइसकेको छ ।