कास्की, २३ पुस/रासस

सङ्कटा फूटबल क्लबले २२औं संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको छ । पोखरा रङ्गशालामा शनिवार सम्पन्न फाइनल खेलमा अमेरिकाको भुटनिज युथ स्पोट्र्स क्लब (विवाइएससी) मिनेसोटालाई ३–२ गोलअन्तरले हराउँदै सङ्कटा दोस्रोपटक च्याम्पियन बनेको हो ।

सङ्कटाले यसअघि २०औं संस्करणको पनि उपाधि जितेको थियो । विजेता टोलीले रु १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता भुटनिज युथ क्लबले रु छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

सङ्कटालाई च्याम्पियन बनाउन सुरजज्यू ठकुरी, मेसुके ओलामाउ र सुनील बलले एक/एक गोलको योगदान गरे । उपविजेता भुटनिज युथ क्लबका तर्फबाट रेने स्यान्टिलन र विलिस ग्रिफिटले गोल गरे ।

खेलको सातौं मिनेटमा सुरजज्यू ठकुरीको गोलमा सङ्कटाले अग्रता लिएको थियो । यसैगरी, खेलको ३५औं मिनेटमा मेसुके ओलामाउले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । भुटनिज युथ क्लबका लागि रेने स्यान्टिलनले खेलको ३७औं मिनेट र पहिलो हाफको अतिरिक्त समयमा विलिस ग्रिफिटले दोस्रो गोल गर्दै खेल बराबरीमा पुगेको थियो ।

खेलको दोस्रो हाफमा कुनै पनि गोल भएन । निर्धारित ९० मिनेटको समय बराबरीमा टुङ्गिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयको पहिलो हाफ गोलरहित बराबरीमैं सकियो । तर ११७औं मिनेटमा सङ्कटाका सुनील बलले निर्णायक गोल गर्दै टीमलाई च्याम्पियन बनाएका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सङ्कटाका सुनील बल घोषित भए । उनले एलजीको इलेक्ट्रिक स्कूटर प्राप्त गरे । उत्कृष्ट मिडफिल्डरमा सङ्कटाका आयुष घलान, उत्कृष्ट गोलरक्षकमा सङ्कटाकै टिकेन्द्र थापा, उत्कृष्ट फरवार्ड सङ्कटाकै स्टेफन बिनोङ र उत्कृष्ट डिफेन्डरको उपाधि भुटनिजका हेक्टर ओर्टेगाले प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकमा सङ्कटाका सल्यान खड्गी घोषित भए । उनीहरू सबैले जनही रु २५ हजार पुरस्कार प्राप्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here