प्रस, वीरगंज, २१ पुस/

एपेक नेपाल एचआइभी रोकथाम उपचार हेरचाह तथा सहयोग सेवाको सहकार्यमा सहयात्री समाज नेपालको आयोजनामा बुधवार वीरगंजमा सरोकारवालाहरूको बैठक सम्पन्न भएको छ ।

बैठकमा अहिलेसम्म एचआइभी सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएको भनी सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।

उनीहरूले अन्य मुलुकमा बसेका नेपालीहरू सङ्क्रमित भएपछि नेपाल फर्काउने र खासगरी भारतबाट यस्ता सङ्क्रमित आउनेहरूको सङ्ख्या बढी देखिएको बताए । स्थानान्तरण भएर आएका व्यक्तिहरूले एचआइभी सङ्क्रमण लिएर आउने गरेको र तिनीहरूबाट घरपरिवारका व्यक्ति सङ्क्रमित हुने गरेको तथ्याङ्कबाट देखिएको दाबी गरे ।

उनीहरूले सन् २०२१ को प्रतिवेदन अनुसार जनसङ्ख्याको तीन प्रतिशत एचआइभी सङ्क्रमित देखिएको र यो सङ्ख्या चार वर्षअघिको तथ्याङ्कभन्दा बढेको बताए । सन् २०१६ को प्रतिवेदन अनुसार नेपालमा कुल जनसङ्ख्याको २.५६ प्रतिशत मात्र सङ्क्रमित थिए । अहिले विभिन्न सङ्घसंस्थाहरू यो क्षेत्रमा कार्यरत रहेका र सरकारले पनि चासो देखाउँदा सङ्ख्या घट्नुको साटो बढेकामा चिन्ता व्यक्त गरे । उनीहरूले सचेतना कार्यक्रमलाई आगामी दिनमा अझ बढी सशक्तरूपमा अगाडि बढाउन सुझाए ।

वीरगंज महानगरपालिका स्वास्थ्य महाशाखाकी रञ्जना पडित, स्वास्थ्य कार्यालय, पर्साका प्रमुख नवलकिशोर साह, नारायणी अस्पतालका मेडिकल अधिकृत डा अजितकुमार साह, डा रितेश राउतलगायतले सङ्क्रमितहरूले रोग लुकाउने गर्दा पनि सङ्क्रमण अझै बढेको बताए ।

उनीहरूले सङ्क्रमितहरूलाई रोगबारे जानकारी गराउन र नाम गोप्य राखेर उपचार गरिने भएकोले रोग नलुकाउन आग्रह गरे ।

एचआइभी सर्ने विभिन्न माध्यमहरू भएकाले त्यसका लागि गलती गरेकै हुुनुनपर्ने र समाजको पनि सङ्क्रमितहरूलाई हेर्ने नजरिया परिवर्तन भइसकेको हुँदा उपचार विधिमा आउन आग्रह गरे ।

कार्यक्रममा सहयात्री समाजले पर्सामा विभिन्न संस्थाहरू यो क्षेत्रमा कार्यरत रहे पनि यकीन तथ्याङ्क सार्वजनिक गर्न समस्या भएको बताएको छ । यकीन तथ्याङ्क नभए पनि करीब सङ्क्रमित दर पाँच प्रतिशतले बढेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here