• सुदर्शनराज पाण्डे

सुशासन, विधिको शासन भनेको द्वन्द्वरहित, शोषणरहित विकसित वातावरण हो । लोकतन्त्र, प्रजातन्त्रको उपयुक्त वातावरण सुशासन हो । सुशासन शान्तिपूर्ण राजनीति हो । सर्वोत्तम शान्ति, सर्वोत्कृष्ट व्यवस्था सुशासन हो । यो आदर्श र कल्पना मात्र हो । वर्तमान तनाव र अशान्तपूर्ण वातावरण कुशासनकै कारण कायम रहेको हो । विश्वमा आसुरी प्रवृत्ति र आसुरी राजनीतिक शक्ति बढिरहेको छ । जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोप, महाविपत्ति वृद्धि हुँदै गइरहेको छ । विश्व यतिखेर युद्धले भन्दा बढी जलवायु परिवर्तनले आक्रान्त छ । यो विश्वव्यापी चुनौती हो । जलवायु परिवर्तन विश्वकै साझा मुद्दा हो, प्राकृतिक युद्ध हो । पृथ्वी साझा घर हो । पृथ्वीभर जलवायु परिवर्तनको डरलाग्दो जोखिम देखिन्छ । जलवायु परिवर्तनले मानिस, पशुपक्षी, रूखबिरुवा, वनस्पति, खेतीपाती, विकास निर्माण सबैमा नकारात्मक प्रभाव पारिरहेको छ । प्राकृतिक प्रकोप, दैवी विपत्तिबाट विश्व नै आक्रान्त छ । वर्तमानमा प्रमुख चिन्ता र चासोको विषय भनेकै जलवायु परिवर्तन बनेको छ । नानाथरीका द्वन्द्व, युद्धबाट जसरी विश्व जोखिममा छ त्योभन्दा बढी कहालीलाग्दो जोखिम जलवायु परिवर्तन बन्दै गइरहेको छ । स्कूल, कलेजमा वातावरण विषय प्राथमिकताका साथ अध्ययन गराइन्छ । भूकम्प, बाढी, पहिरो, डुबान, चट्याङ, आँधीबेहरी, भारी वर्षा, बेमौसमी वर्षा, अनावृष्टि (खडेरी) आदि जलवायु परिवर्तनकै कारण बढेको हो । जलवायु परिवर्तनसँगै वातावरण प्रदूषण एउटा गम्भीर चुनौती हो । भौतिकवादीहरूले नमाने पनि जलवायु परिवर्तन सृष्टि स्थिति, संहारकर्ताको हातमा छ । प्रकृतिको लीला अपरम्पार छ । जलवायु भनेको प्रकृति हो । राजनीतिक परिवर्तनभन्दा बढी वातावरणमा उथलपुथल जलवायु परिवर्तनले ल्याउन सक्दछ । जलवायु परिवर्तनले राजनीतिक व्यवस्थालाई पनि चुनौती दिएको छ । पूँजीवाद वातावरण बिगार्नमा बढी जिम्मेवार देखिन्छ । समाजवादी मुलुकहरू जलवायु परिवर्तनप्रति जति चिन्तित र गम्भीर छन् त्यति पूँजीवादी समाजवादी मुलुकहरू छैनन् । एक वर्षदेखि रूस–युक्रेन युद्ध भीषणरूपमा जारी छ । यस युद्धले जलवायु परिवर्तनमा पनि मदत गरिरहेको छ । जनधन क्षतिको वर्णन गरेर साध्य छैन । युक्रेन युद्धमा सक्दो सहयोग अमेरिकाले गरिरहेको छ । यस युद्धलाई अमेरिका–रूस युद्ध पनि भने हुन्छ । यो तेस्रो विश्वयुद्ध र विनाशको सङ्केत हो । समाजवादी देश भनिने रूसले पूँजीवादी चरित्र प्रदर्शन गरिरहेको छ । युक्रेनी जनताबीच रूस आक्रामक ढङ्गले उत्रिएको छ । उसमा मानवीय करुणा र शान्तिपूर्ण युद्ध नीति देखिएन । युद्धबाट समाधान आउन सक्दैन । युद्धको समाधान भनेको आखिर शान्तिवार्ता नै हो । रूस–युक्रेन युद्धको सवालमा युद्धविराम गराउनु तत्काल दायित्व र जिम्मेवारी बोकेको संयुक्त राष्ट्रसङ्घले गम्भीरतापूर्वक पहल र आवश्यक हस्तक्षेप किन गर्दैन ? विश्वमा न्याय र अन्याय छुट्याउन युएनओले किन चाहेको छैन ? तहसनहस भएपछि पहल गर्नाले मरेपछि औषधि दिए सरह हुन्छ ।

युक्रेन–रूस युद्धलाई क्रान्तिको शान्तिपूर्ण बाटोमा रूपान्तरण गर्नुपर्दछ । जारी रूस–युक्रेन युद्ध कम्युनिस्ट आन्दोलनको रूप होइन, तर विश्व साम्राज्यवाद, पूँजीवादको नाइके अमेरिकाले रूस–युक्रेन युद्धबाट केही सबक त अवश्य सिक्दछ । कम्युनिस्ट पार्टी र कम्युनिस्ट सरकार रहेको रूसले पृथक प्रक्रिया र विशेषता रहेको युक्रेनसँग युद्धमा विश्व इतिहासको सार्वभौम नियम नाघ्न मिल्दैन । रूसले युक्रेनसँग युद्धमा सार्वभौमिकता र विशिष्टताको द्वन्द्वलाई आत्मसात् नगरी यो विषयलाई पर्गेल्न सक्दैन । क्रान्तिको हिंसात्मक बल प्रयोग सम्पूर्ण विश्वको लागि सार्वभौम विषय हो ।

साम्यवादीहरू पूँजीवाद र साम्राज्यवादबाट समाजवादमा सङ्क्रमण शान्तिपूर्ण तरीकाले होस् भन्ने चाहन्छन् । रूसले क्रान्तिको शान्तिपूर्ण विकास र युद्ध विरामको बाटो अँगाल्नुपर्दछ । युक्रेनले पनि अमेरिकी सहयोग र बुई चढेर कहिले युद्ध जित्न सक्दैन । जापानसँग भएको युद्धमा हारेको कारण रूसी सेना पनि त्यतिखेर थकित–गलित थियो । त्यस्तो अवस्था पुनः आउन सक्दछ । अमेरिकाले आफ्ना समर्थक राष्ट्रहरूसँग गठबन्धन गरेर शक्ति सञ्चय गरेको छ । उदीयमान शक्ति चीनका कारण अमेरिकी गठबन्धन कुनै पनि बेला भत्कन सक्छ र अमेरिका सङ्कटमा पर्ने सम्भावना देखिन्छ । रूसी क्रान्तिको शान्तिपूर्ण विकासको सम्पूर्ण आधारहरू खरानी बनाउनुहुँदैन । रूसले युक्रेन युद्धलाई वर्ग सङ्घर्षमा बदल्नुपर्दछ । अमेरिकी साम्राज्यवादविरुद्ध नयाँ ढङ्गले शान्तिपूर्ण सङ्घर्ष गरेर विश्वका अमेरिका विरोधी राष्ट्रहरूलाई समर्थक बनाउन सक्नुपर्दछ । युक्रेन युद्धमा ध्यान केन्द्रित गर्नु रूसको बुद्धिमानी होइन ।

रूस–युक्रेन युद्धविराम गराउन विश्वका सबै राष्ट्रले दबाब चर्काउनु जरूरी छ । अन्तर्राष्ट्रिय परिस्थिति बदलिएर शान्तिपूर्ण सङ्क्रमणको सम्भावना बढ्दैछ । गतिशील चरित्रका कारण समय सञ्चित हुँदैन । समय आउँछ पर्खंदैन । समयलाई रूस र अमेरिकाले गहिरोसँग बुझ्न र बुद्धिमानीपूर्वक द्वन्द्वको समाधान गर्न जरूरी छ । पूँजीवादी संसारलाई समाजवादी संसारमा नबदलेसम्म संसारमा सुखशान्ति हुँदैन । भौतिक उन्नति र प्रगतिमा पनि पूर्ण विराम लाग्न सक्दछ । हालैमात्र आँधीबेहरी र चीसोबाट अति प्रभावित अमेरिकाले आफ्नो ध्यान र सहयोग युक्रेनमा नगरेर जलवायु परिवर्तनका डरलाग्दा घटना न्यूनीकरण गर्न केन्द्रित गर्नुपर्दछ । जलवायु परिवर्तनको प्रभावबाट रूस पनि मुक्त छैन । समाजवादले युद्धलाई शान्तिमा रूपान्तरण गर्न सक्दछ । पूँजीवादी दृष्टिकोण, रणनीति सदैव अशान्ति, द्वन्द्व र आर्थिक सङ्कटको पक्षमा रहन्छ । विश्वमा यतिखेर विनाश हुनकै लागि समाजवाद, पूँजीवादको छाया र ओझेलमा परेको देखिन्छ । वर्तमान विश्वमा राजनीतिक अर्थशास्त्रको ठूलो खाँचो छ । पूँजीवादी राजनीतिक अर्थशास्त्रले भौतिक विकास त गरेको छ तर मानवीय समस्या जर्जर बन्दै आएको छ । पूँजीवादको कुनै सिद्धान्त, नैतिकता, आर्थिक अनुशासन हुँदैन । पूँजीवादी राजनीतिक अर्थशास्त्र एउटा अराजकता हो । पूँजीवादी राजनीतिक अर्थशास्त्रको चौतर्फी आलोचना भइरहेको छ । उत्पीडित जनसङ्ख्याको दिनानुदिन वृद्धि भइरहेको छ । शहरी मध्यम वर्गलाई गरीब बनाउँदै लगिरहेको छ । श्रमजीवी जनताको जीवन झन्झन् कष्टकर बन्दैछ । यो विश्व मण्डलीकरणको समस्या हो । माल (वस्तु) पूँजीवादी आर्थिक प्रणालीको प्रारम्भिक कोष हो । माल भन्नाले मानिसको श्रमशक्तिको प्रयोगबाट मान्छेकै उपयोगको लागि बेचबिखनको उद्देश्यले तयार पारिएको वस्तु बुझिन्छ । यसरी हेर्दा हावापानीजस्ता वस्तु माल हुन सक्दैन । पूँजी (दास क्यापिटल) महान विचारक कार्लमाक्र्सको आलोचनात्मक विवेचना गरिएको ग्रन्थको नाम पूँजी हो । समाजवादी र साम्यवादी समाज स्थापना नै त्यसको अनिवार्य परिणाम हो । पूँजीमा पूँजीवादी व्यवस्थाको आर्थिक आधार वस्तु, धन, अतिरिक्त मूल्यको सिद्धान्त, धनको पूँजीमा रूपान्तरण, मजदूरी, पूँजीको सञ्चय एवं पूँजीवादी आदिम सञ्चयको रहस्यको अन्वेषण गरिएको छ । यस आधुनिक, औद्योगिक क्रान्तिको युगमा मानिसहरू कलकारखाना र औद्योगिक मेशिनमा बढी भर पर्दछन् । मानिसको श्रमको ठाउँ यन्त्रले ओगटेको छ । यन्त्रको चरम विकाससँगै बेरोजगारी सङ्ख्या वृद्धि भएको छ । मानिसले गर्दैं आएको काम मेशिनले गर्दा श्रमको मूल्य सस्तो भएको छ । उत्पादित वस्तुको उपभोक्ता मूल्य घट्न सकेको छैन । अतिरिक्त मूल्यबाट पूँजीपतिलाई मुनाफा भइरहेको छ । पूँजीवादमा सीमित व्यक्तिहरूसँग अपार सम्पत्ति हुन्छ । बाँकी सबैलाई बिहान–बेलुकाको छाक टार्न कठिन छ । उत्पादन सम्बन्ध पूँजीपतिको हातमा छ । उत्पादन सम्बन्ध सबैको हातमा हुन समाजवादी अर्थतन्त्र हुनुपर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here