नोमपेन, १४ पुस/सिन्ह्वा

थाइल्यान्डको सीमामा रहेको कम्बोडियाको एक होटल क्यासिनोमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको प्रहरीले बिहीवार जनाएको छ ।

कम्बोडियाली प्रहरीले पोइपेटस्थित ग्रान्ड डायमन्ड सिटी क्यासिनो होटलमा स्थानीय समय अनुसार राति ११ः३० बजे आगलागी भएको जनाएको छ ।

एएफपीलाई प्राप्त प्रहरी रिपोर्टमा ‘करीब १० जनाको मृत्यु भएको र ३० जना घाइते भएको’ उल्लेख गरिएको छ । अनलाइनमा शेयर गरिएको भिडियो फुटेजमा विशाल कम्प्लेक्समा आगो लागेको देखिएको छ र केही क्लिपहरूमा मानिसहरू जलिरहेको भवनबाट हाम फालेको देखिन्छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार आगलागीको समयमा क्यासिनोभित्र विदेशी नागरिक थिए ।

थाइल्यान्डको विदेश मन्त्रालय स्रोतका अनुसार उनीहरूले स्थानीय अधिकारीहरूसँग नजीकबाट समन्वय गरिरहेका छन् र घाइतेहरूलाई थाइल्यान्डको सा कायो प्रान्तका अस्पतालहरूमा स्थानान्तरण गरिएको छ । अधिकारीले भने, “अग्नि नियन्त्रकहरूले थाई पक्षबाट दमकलहरू पठाएर आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् ।

थाइल्यान्डको उद्धार समूह रुअम्कातान्यु फाउन्डेशनका एक स्वयंसेवकका अनुसार आगो पहिलो तलाबाट शुरू भएको थियो तर गलैंचासँगै चाँडै भवनभरि फैलिएको थियो ।

ग्रान्ड डायमन्ड सिटी थाइल्यान्ड र कम्बोडियाली सीमामा सञ्चालित केही प्रसिद्ध क्यासिनो–होटलमध्ये एक हो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here