छिमेकी मुलुक चीन र भारतमा नयाँ प्रजातिको कोरोना सङ्क्रमण दर उकालो चढ्दैछ । छिमेकी मुलुकमा ‘बिएफ–७’ नामको नयाँ भेरियन्ट फैलिएको कुरा विश्व स्वास्थ्य सङ्गठनले पुष्टि ग¥यो । खुला सिमानाका कारण भारत हुँदै यो भेरियन्ट नेपाल भित्रिन सक्ने भएकाले सजगता अपनाउनुपर्ने अवस्था आएको छ । हाम्रो मुलुकमा हालसम्म उक्त नयाँ प्रजातिको भाइरस देखिएको छैन । तर पनि त्यसको प्रतिकार गर्न तयारी अवस्थामा रहनुपर्नेछ । यसको लागि भरपर्दाे उपाय खोप नै हो । पहिलो र दोस्रो मात्रा खोप लगाएका व्यक्तिले अनिवार्यरूपमा बुस्टर डोज लगाउनुपर्ने विज्ञहरूको मत छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार हाम्रो मुलुकको कुल जनसङ्ख्यामध्ये ६९ लाख ७२ हजार ७९१ जनाले मात्रै कोरोना भाइरसको बुस्टर डोज लगाएका छन् । खोपको मात्रा पूर्ण भएपछि लगाइने अतिरिक्त खोप बुस्टर डोज हो । उक्त खोप लगाएको पनि एक वर्ष बितिसकेको छ । धेरैजनाले पूर्ण खोप मात्रै पूरा गरेका छन् । कतिपयले त पहिलो डोजको खोपसमेत लगाएका छैनन् ।

पहिलो डोज होस् वा बुस्टर डोज, कुनै पनि खोपको प्रभावकारिता छ महीनापछि क्रमशः घट्दै जान्छ । खोप लगाएको छ महीनादेखि त्यसको एन्टिबडी घट्दै जाने र एक वर्ष बित्दा प्रायः शून्यमा पुग्ने विभिन्न अध्ययनहरूले देखाएको छ । त्यसो हो भने बितेको छ महीनाभन्दा पहिले खोप लगाएकाहरू सबैलाई अर्को खोप दिनुपर्ने अवस्था आइसकेको छ । नयाँ भेरियन्टको महामारी नियन्त्रणका लागि खोप नलगाएकालाई पहिलो डोज, पहिलो डोज लगाएकालाई दोस्रो, दोस्रो लगाएकालाई पूर्ण डोज, पूर्ण डोज लगाएकालाई बुस्टर डोज र छ महीनाअघि बुस्टर डोज लगाएकाहरूलाई थप बुस्टर डोज लगाउनुपर्ने देखिएको छ । तर सरकारको भण्डारमा खोप छैन । नेपाल सरकारको केन्द्रीय भण्डारण केन्द्र, प्रदेश, जिल्ला र स्थानीय खोप केन्द्रसमेतमा गरी जम्मा ४७ लाख ६८ हजार मात्र खोप भण्डारण छ । जसमध्ये ४० लाख सिनोफार्म, दुई लाख ८० हजार भेरोसेल र बालबालिकाको लागि हुने फाइजर खोप चार लाख ८० हजार मात्रा छ । सोमध्ये फाइजर खोप उपभोग्य मिति गुज्रिसकेको अवस्थामा डब्ल्यूएचओको सुझाव अनुसार तीन महीना म्याद थप गरिएको छ । बितेको हप्ता सोही खोप लगाउँदा सिराहाका विद्यार्थीहरूले विरोध जनाएका थिए । चिनियाँ उत्पादनको भेरोसेल खोपको उपभोग्य मिति भने अझै एक वर्ष बाँकी छ । त्यसको परिमाण थोरै छ ।

बुस्टर डोज लगाउँदा सोभन्दा पहिले लगाएको खोपको प्रकार कुन हो, सोलाई समेत मध्यनजर गरी प्रभावकारी हुने किसिमको मिलाएर लगाउनुपर्ने हुँदा सबै खोप सबैजनालाई लगाउन मिल्छ भन्ने हुँदैन । हामीसँग सबैभन्दा बढी मौज्दात रहेको सिनोफार्मको खोप हो । यसअघि धेरैजनाले सिनोफार्मकै खोप प्रयोग गरेको हुनाले पनि पुनः सोही खोप बुस्टरको रूपमा प्रयोग गर्न मिल्दैन । कोभ्याक्स सुविधा अन्तर्गत ९० लाख डोज खोपमध्ये हाम्रो मुलुकले पाउनुपर्ने ६० लाख डोज खोप प्राप्त गर्नेतर्फ सरकारले ताकेदा गर्न सकेको छैन । खोप आपूर्ति र अभियान सञ्चालनतर्फ सरकार उदासीन रहँदा यो अवस्था आएको हो । अब मुलुकमा नयाँ सरकार बनेको छ । एकैपटक सम्भव नभए ज्येष्ठ नागरिक, बालबालिका र विकलाङ्गहरूको संरक्षणलाई प्राथमिकतामा राखी अविलम्ब खोप आपूर्ति जरुरी छ । त्यसैगरी महामारीविरुद्ध जनचेतना तथा सतर्कता जगाउनुपर्ने अवस्था आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here