प्रस, वीरगंज, ९ पुस/

पर्साका सीमामा हुने अवैध क्रियाकलापमा संलग्न व्यक्तिहरू अहिले एकअर्काबीच खनिएपछि सीमामा तनाव  बढ्दो छ ।

सीमा सुरक्षामा खटेका प्रहरीले अवैध काम गराउँदा भेदभाव गरेको भन्दै सो  काममा संलग्न व्यक्तिहरू आफैंमा लड्न थालेपछि सीमामा तनाव बढ्दै गएको हो । केही दिनअगाडि भिस्वामा दुई देशका जनताबीच झडप हुँदा केही व्यक्तिहरू सामान्य घाइते भएका थिए । तस्करीको माध्यमबाट सामान वारिपारि गर्ने कार्यमा सुरक्षाकर्मीले काखापाखा गरेपछि भिस्वामा विवाद भएको थियो ।

त्यस्तै, पुस ७ गते शुक्रवार बिहान २ बजे सीमा क्षेत्रको गाउँ अमरपट्टिमा अवैध काम गर्नेहरूबीच ठूलो लडाइँ हुनबाट जोगिएको स्थानीयले जानकारी दिएका छन् ।

सुरक्षाकर्मीहरूबीचको आपसी समझदारीमा सो विवाद राति नै साम्य भएको थियो ।

भारतबाट ठूलो परिमाणमा इलेक्ट्रोनिक्स सामानसहित तस्कर अमरपट्टि नाकाबाट नेपाल प्रवेश गर्न थालेपछि सोही कार्यमा संलग्न अन्य व्यक्तिहरूले १० वटा भारतीय मोटरसाइकलसहित सामान बरामद गरी सशस्त्र प्रहरीको जिम्मा लगाएको थियो ।

चामल ल्याउन नदिन रातिको बेला भारी मात्रामा अवैध तरीकाले सामान नेपाल  भिœयाउन नाकामा अवरोध गरिएपछि बाध्य भएर प्रहरीले सो सामान नियन्त्रणमा लिनुपरेको थियो ।

स्थानीयसँग कुरो मिलाउन प्रहरी र तस्करबीच शनिवार बैठक भएको स्रोतले जनाएको छ ।

केही दिनअगाडि रानीघाटका चारवटा गोदाममा छापामारी गरेर सशस्त्र प्रहरीले १४ सय बोराभन्दा बढी चामललगायत खाद्यान्न नियन्त्रणमा लिएको थियो । यो घटनाबाट केही व्यक्तिको दैनिकी खोसिएको भन्दै सीमामा वारिपारि गर्ने तस्करहरूले हल्ला मचाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here