• विश्वराज अधिकारी

ग्रिटरको व्यवस्था

पसल वा खुद्रा बिक्री भण्डारमा प्रवेश गर्ने ग्राहकहरूलाई स्वागत गर्ने तथा अभिवादनका शब्दहरू भन्ने एवं पसलबाट सामानहरू खरीद गरेर पसलबाहिर निस्किने ग्राहकहरूलाई बिदाइका लागि भनिने शब्दहरू भनेर बिदाइ गर्ने अमेरिकी चलन पनि आफैंमा एक उल्लेखनीय परम्पराको रूपमा रहेको छ । अमेरिकी पसलहरूमा प्रवेश गर्दा पसलमा काम गर्ने कर्मचारी वा पसलधनीले ग्राहकलाई ‘तपाईंलाई यस पसलमा स्वागत छ’, ‘तपाईंको हालखबर कस्तो छ ?’, ‘म तपाईंलाई केही सहयोग गर्न सक्छु’ जस्ता अभिवादनका शब्दहरू भन्ने चलन छ । यसैगरी, ग्राहकले सामान खरीद गरेर फर्किंदा ग्राहकलाई बिदाइस्वरूप पसलका कर्मचारी वा पसलधनीले ‘तपाईंको आजको दिन शुभ होस्’, ‘तपाईंले खोजे अनुसारको सामान पाउनुभयो’, सबैकुरा ठीकठाक छ’, तपाईंको मङ्गल होस्,’ जस्ता बिदाइका शब्दहरू भन्ने चलन छ ।

अमेरिकी व्यापारिक परम्पराले ग्राहकलाई उच्च सम्मान एवं आदर दिनुपर्छ र असल तथा उपयुक्त सामान उचित मूल्य, समय र स्थानमा उपलब्ध गराएर कुनै पनि ग्राहक सधैंभरि आफ्नो पसलमा आउने वातावरण सिर्जना गर्नुपर्छ भन्ने कुरामा जोड दिन्छ । हरेक ग्राहकसँग राम्रो व्यवहार गरेर, आफ्ना ग्राहकहरू सधैंभरि आफ्नो पसलमा आउने इमानदारी वा भक्तिभाव ग्राहकमा सिर्जना गर्नुपर्छ किनभने प्रत्येकपटक नयाँ ग्राहक खोज्नुभन्दा भएकै ग्राहकलाई उच्च सन्तुष्टि दिएर उनीहरू सधैंभरि आफ्नो पसलमा आउने वातावरण सिर्जना गर्नु सर्वाधिक महत्वपूर्ण कुरा हो । व्यापारिक सफलताको उपाय हो । यो मान्यतामा अमेरिकी व्यापारिक परम्पराले बलियो विश्वास गर्दछ ।

पसलभित्र प्रवेश गर्दा ग्राहकलाई कुनै व्यापारिक केन्द्र (अनावश्यक किसिमले पैसा खर्च गराउने स्थान)भित्र प्रवेश गरेको भान नभएर आफ्नै आवासगृहमा प्रवेश गरेको भान होस् भन्ने मान्यता अमेरिकी व्यापारिक परम्पराको रहेको पाइन्छ । यो पसलले मबाट पैसा तान्नेछ भने सोच नभएर यो पसलले मेरो आवश्यकता पूरा गरेर मलाई पूर्ण सन्तुष्टि दिनेछ भन्ने सोच ग्राहकमा होस् भन्ने उद्देश्य अमरिकी व्यापारिक परम्पराले राखेको हुन्छ ।

ग्राहक पसलभित्र प्रवेश गर्दा कतिपय पसलहरूले ‘ग्रिटर’ अथवा स्वागत गर्ने व्यक्ति (कर्मचारी) आफ्नो पसलको प्रवेशदारमा राखेका हुन्छन् । ग्रिटरको मुख्य काम पसलभित्र प्रवेश गर्ने ग्राहकहरूलाई स्वागत गर्नु, स्वागतका लगि भनिने शब्दहरू भन्नु तथा पसलबाट बाहिर जाने ग्राहकहरूलाई बिदाइ गर्नु, बिदाइका लागि भनिने शब्दहरू भन्नु हो ।

अमेरिकाको सर्वाधिक ठूलो खुद्रा बिक्री भण्डार ‘वालमार्ट’का भण्डार (पसल)हरूमा ग्रिटरहरू राखिएका हुन्छन् । वालमार्टमा अन्य कर्मचारी सरह ग्रिटरको पनि पद हुन्छ । ग्रिटरको दरबन्दी हुन्छ । ग्रिटरको मुख्य काम ग्राहकहरूलाई घरमा प्रवेश गरेझैं अनुभूति गराउनु हो । साथै ग्राहकहरूले कुनै किसिमको सहयोग माग गरेमा सहयोग गर्नु हो ।

ग्रिटरले सदा हाँसेर ग्राहकहरूलाई स्वागत एवं बिदाइ गर्नुपर्छ । हरपल मुहारमा मीठो मुस्कान कायम राख्नुपर्छ । र यस्तो गरेर ग्राहकलाई आफ्नै घरभित्र प्रवेश गरेको, कुनै अनजान स्थानमा प्रवेश नगरेको बोध गराउनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here