• बैधनाथ श्रमजीवी

कुनै पनि बुबाआमालाई आफ्नो सन्तान राम्रो, सदाचारी, व्यवहार कुशल, जिम्मेवार, सेवाभावले ओतप्रोत, इमानदार होस् भन्ने हार्दिक इच्छा रहन्छ । तर प्रायः अभिभावक सन्तानको व्यवहारबाट खुशी कम दुःखी बढी  देखिन्छन् । भनिन्छ, यो कलियुग हो । कलिको प्रभावले सन्तान मात्रै होइन सम्पूर्ण संसार नै बिग्रेको हो रे ! किन बिग्रेका हुन् सबै तह–तप्का ? आउनुस्, यसबारे थोरै छलफल गरौं ।

आजको यस आधुनिक युगमा कुनै पनि व्यक्ति, परिवार, समाज वा देशको विकास हुनुको प्रमुख भूमिका त्यस देशको शिक्षा र स्वास्थ्यलाई दिने गरिन्छ । शिक्षित नागरिकहरूले आफ्नो अधिकार मात्रै खोज्दैनन्, अपितु आफ्नो कर्तव्यबारे पनि पूर्ण सचेत हुन्छन् । यसको ठीकविपरीत अशिक्षित नागरिकहरू आफ्नो कर्तव्य के हो, त्यो पनि थाहा पाउँदैनन् भने अधिकारबारे झन् केही पनि ज्ञान नै हुँदैन । नेपालमा शिक्षाको स्तर सा¥है न्यूनतातिर तीव्र गतिले अगाडि बढिरहेको छ । यसको मतलब सामुदायिक तथा निजी विद्यालयहरूमा गरिने पठनपाठनमा सिकाइ उपलब्धि न्यून छ । शैक्षिक गुणस्तरको यो एउटा पाटो हो । यसको अर्काे पाटो के पनि हो भने नेपालका कथित शिक्षितहरूको शैक्षिक, नैतिक तथा मानवीय स्तरको अवस्था विद्यालयका विद्यार्थीहरूको सिकाइ उपलब्धि जस्तै न्यून रहेको देखिन्छ । यो अवस्था नेपालको चौतर्फी विकासको गोरेटोमा सर्वाधिक रोकावटको कारण बनेको छ ।

विद्यालयभित्र अध्यापन गराउने शिक्षकहरू तथा विश्वविद्यालयभित्र अध्यापन गराउने प्राध्यापकहरूको नैतिक स्तर के छ ? नेपाल सरकारको कानूनमा स्पष्ट प्रावधान छ, त्रिभुवन विश्वविद्यालय वा सामुदायिक विद्यालयका प्राध्यापक तथा शिक्षक अन्यत्र कुनै पनि शैक्षिक संस्थानमा अध्यापनको कार्य गर्न नपाउने । यस नियमको पालना व्यवहारमा कति भएको छ ? राज्यको यस्तो सचेत तथा शिक्षित वर्ग नै कानूनको उल्लङ्घन गर्न मरिमेटेर लागेपछि त्यो देशको विकास कसरी होला ?

कुनै पनि कामको एउटा मापदण्ड हुन्छ । त्यो मापदण्ड पूरा नगरेपछि सम्बन्धित व्यक्ति दोषी ठहरिन्छ र उसले सोबापत पाउने पैसा मात्र नपाउने होइन, त्यसबाट हुन गएको क्षतिसमेतको पूर्ति गर्न उसले दण्डसजाय भोग्नुपर्छ । मानौं हामीले खेत जोत्न दुर्ईजना हली वा ट्याक्टरसहितको चालक राखेका छौं । ट्याक्टरमा इन्धन पनि खर्च भएको छ तर ट्याक्टरले जोत्नुपर्ने जमीनको दश प्रतिशत मात्रै उसले जोतेको छ । कुरो बुझ्दा ऊ त्यही समयमा अरू मानिसको खेत जोत्न गएको वा आफ्नै खेत जोत्न गएकोले इन्धन त सकियो तर दिइएको काम सकेको छैन । यस्तोमा कुनै पनि कृषकले उक्त चालकलाई ज्याला दिन्छ ? वा ज्याला मात्रै नदिएर छोडिदिन्छ कि थप कारबाई पनि गर्छ ।

हिजोआज हाम्रा शैक्षिक संस्थाहरूको अवस्था यस्तै छ । हामी वर्षभरि पढाउँछौं तर नानीबाबुहरूमा न्यूनतम विषयगतरूपमा बीस प्रतिशत पनि सिकाइ भइरहेको छैन । तर यसको लागि कोही दोषी छैन । सरोकारवाला शिक्षक तथा नियमनकारी निकायहरू सबैले आफ्नो निर्धारित तलब मात्र बुझेका छैनन्, बरु भत्तासमेत खाएका छन् । यस्तो दुरवस्था शिक्षाको एकाएक भएको हो भन्ने पनि होइन, दशकौंदेखि यहाँ यस्तै चलिरहेको छ । भन्न गा¥हो छ, अझै कति दशक यस्तै चलिरहन्छ ।

पर्वते भाषामा एउटा उखान छ– ‘छोरी कुटी बुहारी तर्साउने ।’ अर्थात्  शिक्षाको गुणस्तर बढाउन वा जाँच्न बडो गजबको काइदा हाम्रा शासक प्रशासकहरूले आविष्कार गरेका छन् । एसइई वा त्रिभुवन विश्वविद्यालयको वा विद्यालयको आन्तरिक परीक्षा प्रथम, द्वितीय, त्रैमासिकहरू । यी परीक्षाहरूमा कक्षाकोठाभित्र निकै कडाइ गरिन्छ । विद्यार्थीलाई दायाँ–बायाँ हल्लिन पनि दिइँदैन । यदि हल्लियो भने त्यहाँ परीक्षार्थी मात्र होइन, कार्यरत निरीक्षकसमेत निष्कासित हुन्छन् । कतिपय अवस्थामा परीक्षाका केन्द्राध्यक्षसमेत निष्कासित हुन्छन् र समाचारमाध्यमहरूमा यसलाई बडो सानले प्रमुखताका साथ प्रसारित गरिन्छ । आजको परीक्षामा यतिजना परीक्षार्थी, निरीक्षक, केन्द्राध्यक्ष निष्कासित भए । सम्भवतः यसलाई नै भन्ने गरिन्छ, गुणस्तरीय परीक्षा तथा शिक्षा ।

वास्तवमा नियमनकारी निकायले कहिले पनि प्रत्येक तहको परीक्षामा अत्यन्तै थोरै परीक्षार्थी किन उत्तीर्ण भएका हुन्, त्यसको गहिरो अध्ययन अवलोकन गरेर देखिएका त्रुटि सच्याएर दोषीलाई कारबाई गर्ने प्रक्रिया ऐनमा व्यवस्था भएपनि त्यसतर्फ आजसम्म ठोसरूपमा कुनै कदम वा प्रक्रिया नै चालेको छैन । विद्यार्थीलाई पढाउनुपर्ने पाठ्यक्रम सकिएको छ वा छैन, शिक्षकले पढाउँदा विद्यार्थीहरूले बुझेका छन् वा छैनन् भनी अनुगमनसमेत कुनै तहमा भएका गरेका पाइँदैनन् । यस्ता विषय कहिले पनि कसैको लागि खोजीको विषय नै हुँदैन । किनभने देशको सम्पूर्ण निकाय अतिरिक्त आम्दानी गर्न अर्थात् भ्रष्टाचारमा लिप्त भएका छन् । अनि विद्यालयमा कोही पढाएको जस्तो मात्रै गरेर घण्टी बिताउँछ, उसलाई विद्यार्थीले बुझ्यो–बुझेनसँग कुनै मतलब नै हुँदैन । त्यसैगरी, कोही हाजिर गरेर तलब खाइरहेको हुन्छ । ऊ विद्यालय आउनु भनेको हाजिर गर्ने मात्र हो । उसले गर्ने काम भनेको विद्यार्थी पोशाकमा छन् कि छैनन्, शुल्क तिरेका छन् कि छैनन्, उसको गेटअप ठीक छ कि छैन, त्यति मात्र हेर्ने । कसैले पोशाक लगाएको छैन भने त्यसलाई रामधुलाइ गर्ने । विद्यार्थी विद्यालय समयमा चौरमा देखिनुहुन्न । प्रत्येक दिन घण्टी खाली गए पनि त्यहाँ शिक्षकको व्यवस्था गर्ने कुनै निकाय नै छैन ।

यसरी कुल मिलाएर विश्वविद्यालय तथा विद्यालयभित्र अध्ययन–अध्यापन चौपट्ट छ भन्दा फरक नपर्ला । अब राम्रो श्रेणी (ग्रेड)ले उत्तीर्ण गरी देशको विकासको कर्णधार बनेका चिकित्सक, इन्जिनीयर तथा विभिन्न सेवा कार्यालयमा लागेका निजामती, सङ्घसंस्थानका कर्मचारीहरू कतिका गुणस्तरयुक्त छन् ?

हामी सबैले बुझेकै कुरा हो विनाघूस कुनै पनि कार्यालयमा कुनै काम गर्न, गराउन सकिंदैन । घूसको बजार कति चर्काे छ भने प्रत्येक दिन कर्मचारी रङ्गेहात अख्तियारद्वारा समातिन्छन् तर पनि घूसको खेती मौलाउँदो अवस्थामा छ । एउटा सुब्बा, खरिदार, अधिकृतस्तरको कर्मचारीसँग अकुत सम्पत्ति कहाँबाट आयो ? यो सोधखोज गर्ने निकाय प्रायः सुतेको देखिन्छ । कहिलेकाहीं मात्रै यिनीहरू जागेको जस्तो देखिन्छन् तर परिणाम सानो माछामा सीमित रहँदै आएको छ । जबकि ती निकायका आफ्नै कर्मचारी रङ्गेहात घूस लिएको समाचार पटक–पटक आउँदा घूसको अवस्था यत्तिकै बुझ्न सकिन्छ । ३३ अर्ब कर नतिर्ने एनसेल, नौ अर्बको बूढीगण्डकी काण्ड, छ अर्बको वाइडबडी जहाज, ठेकेदार पप्पुको भ्रष्टाचार, ३३ किलो सुन, बालुवाटारको जग्गा प्रकरणलगायतका भ्रष्टाचार यतिबेला समाचार बन्नै छाडेका छन् । यतिमात्रै होइन, शौचालयमा प्रयोग हुने चप्पल लगाएर केही दशकअगाडि काठमाडौं छिरेका नेताहरूसँग अहिले अकुत सम्पत्ति कहाँबाट आयो ? यसको खोजी गर्ने न त पत्रकार छ, न अख्तियार ।

सारमा कुरा गर्दा हामीजस्तो पैसा हेर्दा महादेवको पनि तेस्रो नेत्र खुल्ने देवताका भक्तहरूको इमान, धर्म, कर्म सबै पैसाको लागि मात्रै रहेकाले हाम्रो निजी नैतिकताको स्तर पखाल्ने कानूनको जबसम्म भेदभावरहित ढङ्गले कार्यान्वयन गरिंदैन, तबसम्म ठूलालाई चैन, सानालाई ऐनको परिधिमा देशको विकास नारा र नीति भ्रष्टाचारको चास्नीमैं रमाइरहन्छ र पनि हामी किन भन्दैछौं– विधिको शासन छ देशमा… ।

वास्तवमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नामक व्यवस्था छ भन्ने कुरा हाम्रो भ्रम हो । साथै यसमा दलाल पूँजीवादी व्यवस्थाको गहिरो षड्यन्त्र पनि छ । यतिबेला दलाल पूँजीवादीसँग हाम्रा नेताहरूले आफूलाई बेचेका छन्, जुन कुरा हामीले बुझ्नुपर्छ । शुरूमा अमेरिकीहरूको एमसिसी परियोजना कुनै हालतमा पास गर्न दिनेछैनौं भन्नेहरू कसरी रातारात नाटक मञ्चन गरेर सबैले एकमतले पास गरे ? वर्तमानको राजनीतिक व्यवस्थाबारे मैथलीमा एउटा उखान छ– ‘माई माइरकऽगाई पोसे’ अर्थात् आमालाई मारेर गाईलाई पाल्ने जस्तै हो । आफ्नो देशको सम्पूर्ण उत्पादन बन्द गरेर सबै तहको नैतिकता पद पैसाको लागि लिलाम गरेर विदेशी शक्तिराष्ट्रहरूको व्यापार बढाउने नीति तर्जुमा गरी माथिल्लो तप्का कमिशनले मालामाल हुने तथा जनतालाई विदेशीको दैलो चहार्न बाध्यता सिर्जना गरेर निश्शुल्क भिसा निश्शुल्क टिकट बाँड्ने ठूलो प्रपञ्च रचिएको छ । त्यही विप्रेषणले मौजमस्ती गर्न पल्केका नेताहरू र दलहरू मिलेर वर्तमानको दलाल पूँजीवादी व्यवस्था जोगाउन आवधिक निर्वाचन जस्तो ललिपप लिएर भ्रम छर्न अहिलेसम्म सफल भए तापनि गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा जस्ता आधारभूत नैसर्गिक कुराहरूमा समेत आमनागरिकको पहुँच हुन सकेको छैन । तर पूँजीवादी दलालहरूले दिनरात विकास र समृद्धिको कुरा गरी थाकिरहेका छैनन् । जबकि सङ्घीय लोकतान्त्रिक गणतन्त्र समाजवादमुखी भन्दा पनि भ्रष्टतन्त्रमुखी भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here