प्रस, निजगढ, ७ पुस/
जङ्गली हात्तीको त्रासले जङ्गलमा स्थानीयहरू निर्धक्क जान डराइरहेका छन् । कोल्हवी नगरपालिकाको झुरेझुरे, भलुवाहीखोर, पुरानोकाटा, हनुमानगंज, बगेवा, निकास, कोल्हवी, सपही, जडीबुटी, बोधवन, ककरीलगायत आसपास बस्तीका स्थानीयहरू भदौ महीना यतादेखि वनजङ्गल क्षेत्रमा दाउरा, घाँस लिन वन पस्न डराइरहेका छन् ।
राष्ट्रिय वन र तामागढी साझेदारी वन क्षेत्रमा दुर्ई/तीनवटा जङ्गली हात्ती पशु चौपाया, चरिचरन, घाँस–दाउरा लिन जङ्गल जानेहरूले नजीकैबाट देखेपछि स्थानीय त्रसित छन् । बुधवार बिहान हँसिया, नाम्लो लिएर बस्ती नजीकैको वनजङ्गलमा दाउरा, घास लिन जङ्गलको मुखैमा पुगेर लगभग डेढ/दुर्ई सय स्थानीय रित्तै हात फर्किए ।
दिउँसो १२ बजे पनि त्यत्तिकै सङ्ख्यामा स्थानीयहरू जङ्गल पस्न गएपनि रित्तै फर्किए । घाँस, दाउरा गर्नेहरू पनि त्यस क्षेत्रको भित्री जङ्गलमा नगई बस्ती नजीकैको वन क्षेत्रबाट जोहो गर्ने गरेका छन् । भलुवाहीखोर नाकामा रहेको कोल्हवी तामागढी सब डिभिजन वन कार्यालय र तामागढी साझेदारी वन व्यवस्थापन समितिका कर्मचारीहरूले जङ्गली हात्ती वन क्षेत्रमा देखा परेकोले वनजङ्गल नजान र प्रत्यक्षदर्शीले समेत मनाही गरेपछि मानिसहरू बाटोबाटै फर्कने गरेका छन् ।
त्यस वन क्षेत्रको जमुनीखोला, पाताल गङ्गामा सिमसार क्षेत्र भएकोले अटुट रूपमा तीन/चार वटा पानीको ताल, मुल, जरूवा भएको र हात्तीलाई चाहिने पानी, बस्न सुहाउँदो कासघारी भएकोले प्रायः दिनभरि त्यतै बस्ने र साँझ, बेलुकी, बिहान आसपासको बस्तीमा निस्कने र दुःख दिने गरेको कोल्हवी नपा–२ भलुवाहीखोरका ५६ वर्षीय माधवप्रसाद आचार्यले बताए ।
कोल्हवी भलुवाहीखोर वन क्षेत्र नजीक अपूर्व वाग्लेको फुसको घरको भुइँ तल्ला र माथि चोटाको घेराबार भत्काई धान, मकै खाने र पटक–पटक झम्टी/झम्टी दुःख दिन वाग्ले परिवार घरै छोडी अन्य छिमेकीको घरमा आश्रय लिनुपरेको थियो ।
कोल्हवी नपा–२ पुरानोकाटा बस्ने ४८ वर्षीय बद्री खड्काले ६ वर्ष अघि धुब्रे हात्तीले लखटेको नमीठो अनुभव सुनाए । त्यस हात्तीले त्यस वर्ष तीनजनाको ज्यान लिएको थियो । आज बिहान करीब १० बजेतिर अर्को जङ्गली हात्ती देखेको र हात्तीले लखेट्दा ज्यान जोगिएको खड्काले बताए ।
‘जङ्गली जनावर हो । कतिखेर बस्तीमा छिर्छ, ठेगान छैन । बालबच्चा जोगाउन, आफू पनि जोगिन मुश्किल छ । हात्ती आतङ्कले बस्तीमा त्रास मात्र छ’–कोल्हवी नपा–२ पुरानोकाटा बस्ने ५१ वर्षीय प्रेम दोर्जे मोक्तानले भने ।
यस क्षेत्रको वनजङ्गलमा दैनिक ३/४ सयको सङ्ख्यामा दाउरा लिन जान्छन् । अधिकांश महिला हुन्छन् । उनीहरू प्रायः हरियो लाथ्रा काटेर दाउरा बनाउँछन् । यहाँ वन विनाशमा महिलाहरू अग्रस्थानमा रहेको वन कर्मचारीहरू बताउँछन् । अहिले जङ्गली हात्ती देखा परेपछि उनीहरूको सङ्ख्या कम भएको उनले बताए ।
यहाँ देखा पर्ने हात्ती धपाउन स्थानीय वन कार्यालय र पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयमा जानकारी गराउँदा कुनै वास्ता नभएको स्थानीयहरूले बताएका छन् । १०/१२ वर्ष यता कोल्हवी, भलुवाहीखोर, झुरझुर, सपही, बोधवन, ककडीलगायत आसपासमा १३ जनाभन्दा बढीको हात्तीले ज्यान लिइसकेको छ ।