जसले गरे पनि असल नियतले जनहितको लागि गरिने काम राम्रै हुन्छ । राम्रो काम गर्ने व्यक्ति वा संस्था धन्यवादका पात्र हुन् । कृतज्ञता वा आभार प्रकट गर्नु नगर्नु चाहिं व्यक्तिको हेराइ र बुझाइमा भर पर्छ । सार्वजनिक सडकमा राखिएको ट्रक वीरगंज महानगरपालिकाले तान्यो । बाइपास सडक किनारामा लामो समयदेखि राखिएको ट्रक पटक–पटक सूचना जारी गर्दा पनि कसैले आफ्नो दाबी नगरेपछि महानगरले नियन्त्रणमा लिएको हो । सडक अतिक्रमण हटाउने र सुरक्षित गर्ने क्रममा महानगरले बेवारिसे ट्रक फेला पारेको थियो ।

सार्वजनिक सडक सवारीसाधन सञ्चालनको लागि हो । यो पार्किड्ढो लागि, खलियान, भण्डारण वा वर्कशपको लागि होइन । हाम्रा सार्वजनिक सडकहरू पार्किङस्थलको रूपमा प्रयोग भइरहेका छन् । ठूलादेखि साना सवारीसाधनहरू सडकमा पार्किङ गरिएका छन् । सडकमा गुड्दागुड्दै केही समय पार्किङ हुनु स्वाभाविक हो । यहाँ त काम गर्न अन्यत्र पठाउने र पार्किड्ढो लागि चाहिं सडकमा ल्याएर उभ्याउने गरिन्छ । सवारीसाधन खरीद तथा सञ्चालन गर्न सक्ने सक्षम कतिपय यातायात व्यवसायीहरूले नै सार्वजनिक सडकलाई पार्किङस्थलको रूपमा प्रयोग गरिरहेका छन् । त्यसैगरी, कबाड सवारीसाधन खरीदकर्ताहरूले बिग्रे,  भत्केका सवारीसाधन खरीद गर्ने र त्यसलाई सडक किनारामा खडा गर्छन् । उनीहरू कबाड खरीद गर्न आउने पार्टीलाई समेत सडकमैं देखाउँछन् । मानौं सडक उसको कबाड गोदाम र सेल्स स्टोर दुवै हो । यसैगरी, सडकनजीकका वर्कशपहरूले सडक किनारालाई वर्कशप बनाएका छन् । वर्कशपभित्र भन्दा बढी काम सडक किनाराबाट भइरहेका छन् । नगर क्षेत्रको अवस्था यस्तो छ भने ग्रामीण क्षेत्रका सडकहरू चौपाया बाँध्ने गोठ र अन्नबाली सुकाउने खलियानका रूपमा प्रयोग भइरहेका छन् । सडक किनारामा राखिएका सवारीसाधन तथा निजी सामग्रीहरूका कारण दुर्घटना धेरै हुने गरेका छन् । त्यसैगरी, निर्माण सामग्री र सडकमा राखिएका अन्नबालीका कारण दुर्घटना हुने क्रम पनि बढ्दो छ । जनसङ्ख्या वृद्धि र सवारीसाधनको चाप बढेसँगै सडक साँघुरो बन्दैछ । समाज विकासको प्रमुख आधार सडक हो । यसको सदुपयोग र संरक्षणमा समाजको चेतनास्तर झल्कन्छ । हिजोका दिनमा फराकिलो लाग्ने सडक आज सानो गल्लीमा रूपान्तरण भइरहेका छन् । त्यसमा पनि अतिक्रमणले सडकलाई कुरूपसमेत बनाएको छ ।                     

सडक अतिक्रमणमुक्त गरिनु नागरिकको हितको मात्रै कुरा नभएर सम्बन्धित क्षेत्रका सामाजिक प्रतिष्ठाको कुरा पनि हो । सार्वजनिक सडक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक र प्राकृतिक सम्पदा संरक्षण सम्बन्धित पालिकाको जिम्मेवारी तथा दायित्वमा पर्छ । वीरगंज महानगरपालिकाले आफ्नो जिम्मेवारी क्षेत्र अन्तर्गत सडक अतिक्रमण हटाउने अभियान थालेको छ । अभियान विगतमा पनि चलेको हो । सुस्ताएको अभियानलाई पुनर्ताजगीका साथ सञ्चालन गर्न लागेकोमा महानगरलाई धन्यवाद दिनै पर्छ । अब बेवारिसे सवारी मात्रै होइन कि, इजाजतबेगर पार्किङमा राखिएका सवारी र सामग्रीहरू सबै तान्नुपर्छ । कुनै पनि अभियानलाई पूर्णता दिने बाटोमा केही जोखिमहरू आउँछन् । विचलित नभई अगाडि बढे सफलता निश्चित छ । महानगरका नयाँ पदाधिकारीहरूले नयाँ जोश, जाँगरका साथ पुनः सुचारु गरिएको सडक अतिक्रमणविरुद्धको अभियान अब अधकल्चो नबनोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here