नरेश यादव, सेढवा, ३ पुस/
पर्सागढी नगरपालिका–४ का किसानले लगाएको मकैबालीको आइतवार पर्सागढी नगरपालिका कृषि शाखाका कर्मचारीहरूले स्थलगत निरीक्षण गरेका छन् ।
कृषि शाखा प्रमुख राजकुमार खत्री र सहायक प्राविधिक मीरा चौधरीले किसानहरूको रोहबरमा मकैबाली लगाइएका खेतको नापजोख गरे । पर्सागढी नपा–४ मा दुईवटा मकै ब्लक छन् ।
साना किसान सहकारी संस्था लिमिटेड र लालीगुराँस सहकारी गरी दुईवटै ब्लकका किसानहरूले मकैबाली लगाएका छन् ।
पर्सागढी नगरपालिका कार्यालयले मकैबाली लगाएका किसानहरूलाई आर्थिक र सोसम्बन्धी आवश्यक मोटर, ड्रम, त्रिपाल, कोदालो, औषधि, बीउलगायत अनुदान सहयोग गर्दै आएको छ ।
नगरपालिकाले क्षेत्रफल अनुसार आर्थिक र आवश्यक सामग्रीहरू पचास प्रतिशत अनुदान सहयोगमा दिंदै आएकोले अनुदान सहयोगको सदुपयोग भए नभएकोबारे नगरपालिकाको कृषि शाखाले स्थलगत अनुगमन गरेको हो । किसानहरूले नगरपालिकामा बुझाएका विवरण अनुसारको खेत छ छैन भनेर जग्गा नापजाँच पनि गरिएको थियो ।
कृषि शाखा प्रमुख खत्रीले स्थलगत नापजाँचबाट पर्सागढी नगरपालिकामा गरिएको मकैखेतीको सही तथ्याङ्क आउने, किसानहरूले अनुदान सहयोगको सदुपयोग गरे नगरेको तथ्य फेला पर्ने र आगामी आवमा उनीहरूलाई थप अनुदान दिनुपर्ने वा कट्टा गर्नुपर्ने सोबारेमा पनि निर्णय लिन सजिलो हुने भएकोले स्थलगत अनुगमन गरिएको बताए ।
किसान समसुल्लाह हवारीले नगरपालिकाको कदमको स्वागत गरे । उनले खेतीपातीको निरीक्षण गर्दा कागजी आधारमा अनुदान दिने प्रचलनको अन्त्य हुने विश्वास व्यक्त गरे । उनले सही तथ्याङ्क आउने र वास्तविक किसानहरूले अनुदान सहयोग पाउने वातावरण झनै मजबूत भएको प्रतिक्रिया दिए ।