गौतम माविमा गत मङ्सिर २४ गते शनिवार सम्पन्न विज्ञान प्रदर्शनी तथा प्रतियोगिताको बुधवार नतीजा सार्वजनिक गरी विजेता समूहलाई पुरस्कृत गरिएको छ।
प्रदर्शनीमा कक्षा ३ देखि १० सम्म अध्ययनरत विद्यार्थी समूहहरू सहभागी भएका थिए। सहभागी समूहमध्ये डिभिजन ए (कक्षा ९–१०) अन्तर्गत कोड ए–१ समूहले बनाएको ई–बाइक प्रथम, कोड ए–२ समूहले बनाएको लेजर लाइट सेक्युरिटी सिस्टम द्वितीय र कोड ए–४ समूहले निर्माण गरेको एनपिके फर्टिलाइजर, ह्युमन फ्लोइङ कारले तृतीय स्थान हासिल गरेको छ।
त्यस्तै, डिभिजन बी (कक्षा ७–८) अन्तर्गत कोड डी–४ समूहले बनाएको स्मार्ट सिटी प्रथम, कोड डी–६ समूहले बनाएको स्टटगन द्वितीय र कोड सी–७ समूहले बनाएको स्मार्ट भ्वाइस कन्ट्रोलर, एन्टी स्लिप अलार्मले तृतीय स्थान प्राप्त गरेको छ।
यसैगरी, डिभिजन सी (कक्षा ५–६) अन्तर्गत कोड ई–९ समूहले निर्माण गरेको डे एन्ड नाइट मोडल प्रथम, कोड एफ–३ समूहले बनाएको मोर्डन इन्फ्रास्ट्रक्चर द्वितीय र कोड ई–५ समूहले निर्माण गरेको हाइड्रोलिक जेसिबीले तृतीय स्थान हासिल गरेको छ।
बुधवार विद्यालयको प्राङ्गणमा विजयी समूहलाई पदक, प्रमाणपत्र र नगदसहित पुरस्कृत गरिएको थियो। डिभिजन ए समूहमा प्रथम पुरस्कार पाउने समूहलाई नगद रु १० हजार, दोस्रो हुनेलाई रु आठ हजार र तेस्रो हुनेलाई रु पाँच हजार प्रदान गरिएको थियो।
यसैगरी, डिभिजन ‘बी’मा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु आठ हजार, छ हजार र पाँच हजार नगदले पुरस्कृत गरिएको थियो भने डिभिजन ‘सी’मा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु पाँच हजार, चार हजार र तीन हजार नगद पुरस्कार दिइएको थियो।
ई–बाइक निर्माण गर्ने समूहकी छात्रा प्रिया चौरसियाले निस्ट कलेज काठमाडौंमा कक्षा ११–१२ का लागि छात्रवृत्तिसमेत पाएकी छन्।
नेशनल इन्फोटेक कलेजका निर्देशक मनीष सिंहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका निर्देशक सोनाम लामा, सहायक प्रधानाध्यापिका परीक्षा लामा, विद्यालय व्यवस्थापन समितिका सदस्यहरूलगायतको सहभागिता थियो।