प्रस, वीरगंज, १५ मङ्सिर/

बालकसँग अप्राकृतिक मैथुन गर्ने प्रयास गर्दा दाउराको झटारो लागेर एकजनाको मृत्यु भएपछि खाल्डोमा पुरेको आरोपमा बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

मङ्सिर १४ गते बिहान ९ बजे बाराको कोल्हवी नगरपालिका–११ रामपूर्वाटोल बस्ने ४३ वर्षीय परीक्षण चौधरीले सोही ठाउँका बालकसँग अप्राकृतिक मैथुन गर्न खोज्दा बालकले प्रतिकार गर्दै दाउरा प्रहार गरेपछि चौधरीको मृत्यु भएको बारा प्रहरीले जनाएको छ । चौधरीको मृत्यु भएपछि बालकले सोही ठाउँ निवासी सियाराम चौधरीको गोठको पछाडि खाल्डोमा पुरेको जिप्रका, बाराले जनाएको छ । बालकको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रहरीले घटनास्थलबाट भेटिएको चप्पलको आधारमा बालकलाई पक्राउ गरेको जनाएको छ । घटनास्थलबाट सिसौंको दाउरा, कोदालो, रगतजस्तो पदार्थ लागेको बोरा, ज्याकेट, हाफ सर्ट, जिन्स पाइन्ट र एक थान चप्पल बरामद गरेको छ ।

प्रहरीका अनुसार मङ्सिर १३ गते राति मृतक चौधरी र बालकले गाउँकै रामपुकार चौधरीको खाजापसलमा रक्सीसेवन गरेको र घर जाने क्रममा मृतक चौधरीले बालकसँग अप्राकृतिक मैथुन गर्न खोज्दा बालकले सिसौंको दाउराले प्रहार गर्दा चौधरीको मृत्यु भएको थियो । त्यसपछि बालकले मृतक चौधरीलाई घटनास्थलनजीकै खाल्डो खनी शवलाई गाडेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बारा जिल्ला अदालतबाट म्याद अनुमति लिएर बालकलाई हिरासतमा राखी अनुसन्धान भइरहेको जिप्रका, बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here