प्रस, वीरगंज, ८ मङ्सिर/
आचारसंहिताविपरीत पर्सामा राजनीतिक दलहरूले विजय जुलुस निकालेका छन् । विजय जुलुस निकाल्दा पराजित उम्मेदवारको चुनाव चिह्नलाई जितेका उम्मेदवारहरूले अपमान गर्दै प्रदर्शन गरे ।
प्रतिनिधिसभा सदस्यमा १ (१)बाट जितेका जसपाका प्रदीप यादवको बुधवार साँझ निस्केको विजय जुलुसमा उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीको चुनाव चिह्न माछा छापको अपमान गरिएको थियो । ज्यूँदो माछालाई विजय जुलुसमा सहभागी जसपाका कार्यकर्ताले निमोठेर प्रदर्शन गरेका थिए साथै बाँसको फाटामा माछा रोपेका थिए ।
यसैगरी, प्रतिनिधिसभा क्ष्Fेत्र नं २ बाट वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली काङ्ग्रेसका अजयकुमार चौरसिया, क्षेत्र नं २ (१)बाट प्रदेशसभा सदस्य श्याम पटेल र २ (२)बाट लोसपाका रमेश कुर्मी सम्मिलित बिहीवार निकालिएको संयुक्त विजय जुलुसमा जसपाको चुनाव चिह्न छाता छापको अपमानजनकरूपमा प्रदर्शन गरिएको थियो । नेका र लोसपाका कार्यकर्ता सम्मिलित विजय जुलुसमा छातालाई च्यात्ने, लात्तीले हान्नेजस्ता कार्य गरिएको थियो ।