प्रस, वीरगंज, ८ मङ्सिर/
पर्साका एकजना बालक चार दिनदेखि बेपत्ता भएपनि उनको खोजतलाशमा पर्सा प्रहरीले चासो देखाएको छैन । वीरगंज महानगर–२५ खलवाटोला, श्रीसियाका गोलु भन्ने नीरज पासवान मङ्सिर ५ गते दिउँसो २ बजेदेखि बेपत्ता भएका छन् ।
उनले रेडमी कम्पनीको १५ हजार मूल्यको मोबाइल बोकेका छन् । उक्त मोबाइलमा ९८२१८८१५८३ र ९८०७१०७८६३ नम्बरको सिम रहेको छ । सोही दिन बिहान ११ बजेपछि घरबाट निस्किएका नीरजको मोबाइलबाट साँझ ७ः१५ बजे एकजना अपरिचित व्यक्तिले फोन गरेका थिए । उनले फोन गर्दा नीरजका बुबा श्रीराम हजरा दुसाधले उठाएका थिए ।
त्यसपछि छोटो संवाद पनि भयो । फोनकर्ताले तिम्रो छोरा र केही साथीहरू झगडा गरिरहेको अवस्थामा गोजीबाट मोबाइल खसेको छ, भारत, रक्सौलको हरैया गाउँ पस्ने बाटोमैं मेरो घर छ भनी बोलाउँदै फोन काटेका थिए ।
त्यसपछि परिवारजन चारवटा मोटरसाइकल लिएर सो स्थानमा जाँदा न नीरज भेटिए, न उनको मोबाइल, न फोन गर्ने व्यक्ति । उनको मोबाइल स्वीच अफ गरिएको थियो ।
त्यसपछि रक्सौलको विभिन्न थाना, चौकी र गाउँहरूमा खोजी गर्दासमेत नभेटिएपछि पर्सा र बारामा पनि खोजबीन शुरू भयो । आफन्तजनकहाँ फोन गर्दा पनि बालकको अत्तोपत्तो नलागेपछि परिवारजनले सोही दिन राति १० बजे जिल्ला प्रहरी कार्यालय, पर्सामा खोजतलाशको लागि निवेदन दिए ।
हालसम्म उक्त मोबाइल नम्बरको कल टे«स वा बालकको स्थितिबारेमा पर्सा प्रहरी गम्भीर भएर छानबीन नगरेको नीरजकी आमा सवितादेवीले आरोप लगाइन् । उनले सो घटनामा पर्सा प्रहरीलाई सूक्ष्म अनुसन्धान गरिदिन र आफूहरूको परिवारलाई न्याय दिलाउन सरोकारवाला निकायसँग आग्रह गरिन् ।
दलित महिला अगुवा सुगान्धी पासवानले पैसावालाको छोराछोरी हराएको वा बेपत्ता भएको भए घण्टौंपिच्छे विभिन्न गाउँमा छापामारी गरेर घटना सतहमा आइसकेको हुन्थ्यो तर दलित परिवारको बालक भएका कारण प्रहरीले चासो नदिएको उनले आरोप लगाइन् ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले मतगणनाको दबाबले गर्दा बालकको खोजतलाशमा सोचे अनुसारको नतीजा दिन नसकेको बताउँदै घटनाप्रति गम्भीर भएको र चाँडै बालकको अवस्था पत्ता लगाउने बताए ।