प्रस, वीरगंज, ७ मङ्सिर/

प्रतिनिधिसभा सदस्यमा पर्सा जिल्लाबाट चारजना उम्मेदवारको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

पर्सा क्षेत्र नं १ बाट जसपाका प्रदीप यादवले लगातार दोस्रFेपटक जीत हासिल गरेका छन् । उनले २२ हजार ५३७ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले २० हजार ९१७ मत ल्याए ।

द्विवेदीभन्दा एक हजार ६२० मतान्तरले यादवले जीत हात पारेका हुन् । यसअघि २०७४ सालको आमचुनावमा यादवले नेपाली काङ्ग्रेसका अनिल रूँगटालाई पराजित गरेका थिए । रूँगटा यसपालिको चुनावमा नेपाली काङ्ग्रेसबाट समानुपातिक उम्मेदवार छन् ।

पर्सा क्षेत्र नं २ बाट नेकाका अजयकुमार चौरसिया जितेका छन् । यसअघिको निर्वाचनमा पराजित भएका चौरसियाले यसपालि अन्तिमपटक चुनाव लड्ने घोषणा गरेका थिए । उनले २८ हजार ४५१ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाका सुरेन्द्र कुर्मीले २२ हजार ४४५ मत ल्याएका थिए । यो क्षेत्रबाट २०७४ सालमा जसपाका विमलप्रसाद श्रीवास्तवले चौरसियालाई पराजित गरेका थिए । यसपटक श्रीवास्तवले चुनाव लडेनन् ।

पर्सा क्षेत्र नं ३ मा एमालेका राजकुमार गुप्ता विजयी भएका छन । गुप्ताले २४ हजार २६० मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकाका सुरेन्द्रप्रसाद चौधरीले २४ हजार १०९ मत ल्याएका छन् । गुप्ताले चौधरीलाई १५१ मतान्तरले पराजित गरेका छन् ।

पर्सा क्षेत्र नं ४ बाट नेकाका रमेश रिजाल निर्वाचित भएका छन् । उनले ३१ हजार १४२ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जालीम मियाँले २५ हजार ६१२ मत ल्याए ।

रिजालले आफ्ना प्रतिद्वन्द्वी मियाँलाई पाँच हजार ५३० मतान्तरले पराजित गरेका हुन् । २०७४ सालको चुनावमा यो क्षेत्रबाट तत्कालीन राजपाका लक्ष्मणलाल कर्णले  रिजाललाई पराजित गरेका थिए । अहिले कर्ण लोसपाबाट क्षेत्र नं. १ मा चुनाव लडे र नराम्ररी पराजित भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here