प्रस, वीरगंज, १ मङ्सिर/
जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई मध्यनजर राख्दै कात्तिक २६ गते राति १२ बजेदेखि मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाए पनि पर्सा जिल्लाका ग्रामीण क्षेत्रमा खुलेआम मदिरा बिक्री भइरहेको छ ।
वीरगंज महानगरपालिकाको मुख्य सडकमा रहेका अधिकांश मदिरापसल बन्द छन् । रेस्टुराँको रूपमा सञ्चालित मदिरापसलहरू मात्र खुलेका छन् तर मदिरा बिक्री वितरण भएको पाइएको छैन, त्यसमध्ये केहीले लुकीछिपी मदिरा बिक्री वितरण गरिरहेका छन् । वीरगंजमा मदिरा बिक्रीमा केही कडाइ देखिए पनि पर्सा जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा भने मदिराको खुला बिक्री भइरहेको छ ।
प्रस, ठोरी/
ठोरी गाउँपालिकामा मदिराको बिक्री पूर्ववत्रूपमा जारी छ ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरे पनि स्थानीय सुरक्षाकर्मीहरूले मदिरा बिक्रीमा कडाइ गर्न नसक्दा यहाँका पसलहरू खुलेका छन् र बिक्री पनि निर्बाध भइरहेको छ ।
प्रस, सेढवा/
जीराभवानी गाउँपालिका र आसपासका गापाहरूमा पनि मदिराको बिक्री निर्बाधरूपमा भइरहेको छ ।
ग्रामीण क्ष्Fेत्रमा मदिराको बिक्री मुख्यतः साँझदेखि हुने गरेको छ र यहाँका पसलहरू पनि सोही समयमा खुल्ने गरेका छन् । त्यहाँ जिल्ला प्रशासन कार्यालय, पर्साले जारी गरेको सूचनाको असर छैन । स्थिर समय मङ्सिर १ गते राति १२ बजेदेखि मदिरा बिक्री बन्द हुने भन्ने विषयले यहाँका मानिसहरूमा छटपटी भएको छ । सो अवधिमा पनि मदिरा बिक्री बन्द हुने कुरामा पनि सन्देह छ ।
प्रस, पर्सागढी/
पर्सागढी नगरपालिकामा पनि जिल्ला प्रशासन कार्यालय, पर्साको मदिरा निषेध गरिएको सूचनाको असर छैन । निर्वाचनलक्षित गरेर कात्तिक २६ गते राति १२ बजेदेखि प्रजिअ ढकालले सूचना जारी गरी मदिरा बिक्री–वितरण, सेवनमा निषेध गरे पनि यहाँका मदिरापसलहरू निर्बाधरूपमा सञ्चालनमा छन् ।
बिहीवार दिउँसोदेखि नै यहाँका मदिरापसलहरू खुलेका छन् । स्थानीय प्रहरीले मदिरापसल बन्द गराउनेतर्फ कुनै चासो लिएको छैन ।
प्रस, पोखरिया/
पोखरियामा भने कात्तिक २७ गतेदेखि नै मदिराको बिक्री बन्द छ । मुख्य बजारमा रहेका मदिरापसलहरू बन्द छन् । मदिरा पिउने र बिक्री गर्नेहरूले लुकीछिपी यो कार्य गर्दैछन् ।
प्रस, भिस्वा/
भिस्वामा पनि मदिरा बन्द छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार यहाँका प्रहरीले मदिरापसलहरू सञ्चालनमा आउन दिएका छैनन् । यहाँ करीब सात–आठवटा मदिरापसल छन् र ती सबै बन्द छन् । तर घरेलु मदिराको बिक्री भने रोकिएको छैन ।
मदिराभट्टीबाट घरेलु मदिराको बिक्री भइरहेको स्रोतले जनाएको छ ।