प्रस, वीरगंज, १ मङ्सिर/
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसार समयावधि बिहीवार राति १२ बजेदेखि सकिएको छ । निर्वाचन आयोगले यो समयलाई स्थिर समय भनेको छ । निर्वाचनसम्बन्धी कुनै पनि प्रचारप्रसार नगर्न शुक्रवारदेखि निषेध गरिएको छ ।
यसै क्रममा बिहीवार उम्मेदवारहरूले अन्तिम चुनाव प्रचारप्रसार गरेका छन् । पर्सा क्षेत्र नं २ बाट जसपा–एमाले गठबन्धनका प्रतिनिधिसभा सदस्य जसपाका सुरेन्द्र कुर्मी र सोही क्षेत्रको २ बाट प्रदेशसभा सदस्यका उम्मेदवार एमालेका हरेराम पटेलले वीरगंज–२६ को अठराहाँ, सुगौली र बहुदरमाई नगरपालिकाको वडा नं २ मा घरदैलो गरी मतदाताहरूसँग मत मागेका छन् ।
यसैगरी, क्षेत्र नं २ (२) मा स्वतन्त्र उम्मेदवार रूपेशमान सिंहले वीरगंज–१९ को बर्वा, विन्ध्यवासिनी, वडा नं ६ र ९ मा घरदैलो र भेटघाट गरेका छन् । निर्वाचनको अन्तिम दिन भएकोले घरदैलो र भेटघाट कार्यक्रमलाई निरन्तरता दिइएको उनले बताए ।
यसैगरी, पर्सा क्षेत्र नं २ बाट वाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकाका अजय चौरसिया र यो क्षेत्रको १ र २ का प्रदेशसभा सदस्य उम्मेदवार नेकाका श्याम पटेल, लोसपाका रमेशप्रसाद कुर्मीसमेतको टोलीले पर्सागढी नगरपालिका–२ पिपरामा घरदैलो गरेका छन् ।
प्रदेशसभा सदस्यका उम्मेदवार पटेलले भने पर्सागढी नपा–४, बहुदरमाई नपा–३ र ६ मा भेटघाट कार्यक्रम गरेका छन् । उनले वाम गठबन्धनका उम्मेदवारहरूलाई जिताउन भेटघाटको क्रममा मतदातासँग आग्रह गरेका थिए ।
पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीले आफ्नो क्षेत्र अन्तर्गत वीरगंज महानगर–१६ को इनर्वा र ३२ को परसवामा घरदैलो गर्नुका साथै वीरगंजमा पत्रकार सम्मेलन गरेका थिए । उनले निर्वाचनमा यसपटक मतदाताहरू जागरूक भएको र उनीहरूले दलगत उम्मेदवारभन्दा स्वतन्त्र उम्मेदवार रुचाएको बताए । यसपटक गठबन्धनको नाममा दलहरूले जनतालाई असल उम्मेदवार दिन नसकेको आरोप लगाए । अहिलेको गठबन्धनलाई उनले सत्तालोलुपताको भ¥याङ भनेर टिप्पणी गरे । नेता द्विवेदीले निर्वाचनमा धाँधली हुन सक्ने र मतदाताहरूलाई प्रलोभनमा पार्न सक्ने सम्भावना रहेकाले त्यसतर्फ स्थानीय प्रहरी प्रशासनलाई चनाखो हुन सुझाए । निर्वाचन आयोगले चुनावमा भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोगमा बन्देज गरे पनि पर्सा जिल्ला र खासगरी आफ्नो क्ष्Fेत्रमा भारतीय नम्बर प्लेटका गाडी चुनाव प्रचारमा रहेको र स्थिर समयमा भारतीय सवारीसाधनबाट मतदाताहरूलाई रकम बाँड्नेजस्ता चलखेल हुने भएकोले सजग हुन आग्रह गरे ।
पर्सा क्षेत्र नं ३ बाट जसपा–एमाले गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार एमालेका राजकुमार गुप्ताले पटेर्वासुगौलीको देउरियामा दिउँसो आमसभा गरे । उनले जसपा–एमाले गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन आग्रह गरे । आमसभामा क्षेत्र नं ३ (१) बाट प्रदेशसभाका उम्मेदवार मन्जुर अन्सारी, जसपाबाट समानुपातिक उम्मेदवार सलमा खातुन र एमाले–जसपाका नेताहरू प्रभु हजरा, डा विश्वम्भर शर्मा, शिव पटेल, श्रीलाल मोदी, विजय चौरसिया, पवन सिंहलगायतले मन्तव्य व्यक्त गरेका थिए । आमसभाको सञ्चालन श्याम बन्जाराले गरेका थिए ।
यसैगरी, क्षेत्र नं ३ बाट वाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकाका सुरेन्द्रप्रसाद चौधरी, क्षेत्र नं ३ (१) बाट प्रदेशसभाका उम्मेदवार माओवादी केन्द्रका छोटेलाल यादव, क्षेत्र नं ३ (२) का प्रदेशसभा सदस्य उम्मेदवार जनार्दनसिंह क्षत्रीले बिहीवार पोखरिया नगरपालिका–१ वनकटवामा घरदैलो गरेका छन् ।
यसैगरी, जनार्दनसिंह क्षत्रीले बिहीवार घरदैलोबाहेक आफ्नो क्षेत्रका श्रीसिया, पकाहा, झौवागुठीलगायतमा भेटघाट कार्यक्रम गरेका छन् । सो अवसरमा उनले वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी गराउन आग्रह गरेका थिए ।
यसैगरी, पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार जसपाका प्रदीप यादव, क्षेत्र नं १ (१) बाट प्रदेशसभा सदस्यका उम्मेदवार एमालेका विचारी यादवले वीरगंज–१२ मुर्ली, वडा नं १३ राधेमाई, वडा नं १४ पिपरा, वडा नं १६ नगवा, वडा नं २० हरपतगंजका मतदातासँग भेटघाट गरेका छन् ।
बिहीवार अन्तिम चुनावीसभामा पाँचवटा वडाका मतदाताहरूसँग यादवद्वयले जसपा–एमाले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।
पर्सा क्षेत्र नं ४ मा जसपा–एमाले गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एमालेका जालीम मियाँ, प्रदेशसभा सदस्यका उम्मेदवार एमालेका जयप्रकाश थारूले चुनावीसभा गरेका छन् । उनीहरूले एमाले–जसपा गठबन्धनका उम्मेदवारलाई मतदान गरी निर्वाचित गर्न मतदातासँग आग्रह गरे ।
कार्यक्रममा खगेन्द्र श्रेष्ठ, प्रताप श्रेष्ठ, ठाकुर न्यौपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
यसैगरी, यसै क्षेत्रबाट वाम लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकाका रमेश रिजाल र प्रदेशसभा सदस्यका उम्मेदवार माओवादीकी शेख चाँदताराले आफ्नो क्षेत्रका वसन्तपुर, धोबिनीमा भेटघाट कार्यक्रम गरेका छन् । सो क्रममा उनीहरूले मतदाताहरूसँग प्रतिगमनविरोधी शक्तिलाई पराजित गर्न वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मतदान गरी विजयी बनाउन आग्रह गरे ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य उर्मिला अर्याल, माओवादीका रामबाबू बैठा, टेकबहादुर सार्की, सन्तोष पटेल, अजय कलवार, नेकाका प्रेमबहादुर थापा, बलिष्टर अहमदलगायतको सहभागिता थियो ।
यसैगरी, पर्सा क्षेत्र नं १ (२) बाट हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्यका उम्मेदवार ओमप्रकाश सर्राफले बिहीवार प्रचारप्रसारको अन्तिम दिन आफ्नो क्ष्Fेत्रमा रोड शो गरेका छन । वीरगंज महानगरको नौवटा वडामा उनले रोड शो गरेको बताए ।
पर्सामा कुनै पनि दलका शीर्ष नेता आएनन्
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको क्रममा पर्सा जिल्लामा दुवै गठबन्धन र नाम चलेका राजनीतिक दलका शीर्ष नेताहरूको आगमन भएन ।
प्रत्येक चुनावमा दलका ठूला नेताहरू सहभागी भएर आमसभा गरिंदै आए पनि यसपटकको निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धन र जसपा–एमाले गठबन्धन तथा अन्य राजनीतिक दलले पनि ठूला नेताहरूलाई बोलाएर आमसभा गरेनन् ।
समानुपातिकमा उम्मेदवार रहेका राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर जबरा, समानुपातिककै उम्मेदवार नेकाका विमलेन्द्र निधि मात्र आएर चुनावी प्रचार गरे ।
राष्ट्रिय अध्यक्ष्Fमा भर्खरै खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने पर्सागढी नगरपालिकाको चुनावीसभामा सहभागी भएका थिए ।
यसको अलावा एमाले, नेका, माओवादी केन्द्र, जसपा, लोसपा, राप्रपा, नेपाल सुशासन पार्टीलगायतका नेताहरू चुनावी गतिविधिमा संलग्न भएनन् । अन्यत्र यिनीहरूको सहभागिता देखिए पनि पर्सा जिल्लामा भने शीर्ष नेताहरू आएनन् ।